• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकाद्वारा रेडक्रसलाई तीन लाख सहयोग

Byभीमदत्त अनलाइन

२ मंसिर २०७६, सोमबार १७:५५ २ मंसिर २०७६, सोमबार १७:५५ २ मंसिर २०७६, सोमबार १७:५५

महेन्द्रनगर, २ मंसिर
भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरलाई आर्थिक सहयोग गरेको छ । रेडक्रसको रक्त सञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनका लागि तीन लाख सहयोग गरिएको छ ।

भीमदत्त नगरपालिका कार्यालयमा मंगलबार कार्यक्रम गरी रेडक्रसलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई तीन लाखको चेक हस्तान्तरण गर्नु भयो ।

नगर प्रमुख विष्टले नगर वासिन्दालाई निःशुल्क रुपमा रगत उपलब्ध गराउनका लागि रेडक्रसको ब्लड बैंकलाई सहयोग गरिएको बताउनु भयो । ‘नगरवासीलाई निःशुल्क रूपमा रगत उपलब्ध गराउन गत वर्ष पनि सहयोग गरिएको थियो, यस वर्ष सहयोगलाई निरन्तरता दिएका हौ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘रगत अभावमा कुनै पनि नागरिकले समस्या खप्न नपरोस भन्ने चाहन्छौ ।’

नगर क्षेत्रका कमजोर आर्थिक अवस्था भएका वासिन्दालाई मध्यनजर गरी गत वर्षदेखि रेडक्रसलाई सहयोग गरिएको हो । नगरपालिकाको पाँचौ नगर सभाबाट यसर वर्षका लागि सहयोग रकम विनियोजन गरिएको थियो ।

नगर प्रमुख विष्टले रक्त सञ्चार सेवा केन्द्रलाई व्यवस्थित बनाउन सहयोग गरिएको उल्लेख गर्दै आगामी दिनमा सहकार्य र साझेदारीलाई निरन्तरता दिइने बताउनु भयो । ‘सबै क्षेत्र, संस्था, व्यक्ति सबैसित सहकार्य र साझेदारी गरी जाने नगरको नीति अनुसार रेडक्रससित सहकार्य गरिएको छ, विकास निर्माणमा साझेदारी गरिएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौ, विभिन्न संघ संस्थाको सहयोगमा स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको छ, यसलाई निरन्तरता दिन्छौ ।’

भीमदत्त नगरपालिकालाई समृद्ध नगर बनाउन सबै क्षेत्रको सहयोग आवश्यक भएकोले सहकार्य र साझेदारी गरिएको नगर प्रमुख विष्टले बताउनु भयो । भीमदत्त नगरपालिकामा रेडक्रस कञ्चनपुरसँग विपद् जोखिम न्यूनीकरणका कार्यक्रममा सहकार्य गरिएको छ ।

रेडक्रससँग सहकार्यमा भीमदत्त नगरपालिका–१० श्रीलंका टोलमा पुल निर्माण, वडा नं. ९ खल्लामुसेट्टीमा तटबन्ध निर्माण र वडा नं. १९ बागफाँटामा जैविक तटबन्ध निर्माण गरिएको छ । ‘नगर क्षेत्रमा रहेका सम्पूर्ण संघ संस्थासँग सहकार्य गरेर अगाडि बढिरहेका छौं, नगरको विकासमा सबैले लाग्नु आवश्यक छ,’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘सबैको सहयोग सहकार्यमा समृद्ध नगर बनाउँछौ ।’

कार्यक्रममा रेडक्रसका सभापति उप्रेतीले भीमदत्तको सहयोगमा नगरवासीलाई गत वर्षदेखि निःशुल्क रगत उपलब्ध गरिएको बताउनु भयो । ‘गत वर्षदेखि नगरवासीलाई निःशुल्क रगत उपलब्भ गराउँदै आएका छौं,’ सभापति उप्रेतीले भन्नु भयो, ‘अहिले नागरिकले आर्थिक अभावमा रगत नपाउने समस्या समाधान भएको छ ।’ कञ्चनपुर जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउनका लागि स्थानीय तहसँग सहकार्य भइरहेको सभापति उप्रेतीले बताउनु भयो ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिह, प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट, प्रशासकीय अधिकृत हरि सिह धामी, रेडक्रसका उप सभापति नर बहादुर राना, उप मन्त्री मन्जु जोशी दाहाल, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थी लगायतका सहभागी हुनु भएको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले २०५१ सालमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *