महेन्द्रनगर, २३ पुुस
भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिका कार्यालयमा कार्यक्रम गरी अक्सिजन खरिदका लागि सहयोग हस्तान्तरण गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले केही महिना अघि अस्पताल सुधारका लागि आयोजना गरिएको कार्यक्रममा अक्सिजन खरिदका लागि सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको थियो । नगर प्रमुख विष्टको प्रतिवद्धता अनुसार नगर कार्यपालिकाबाट सहयोग गर्ने निर्णय गरी सहयोग रकम हस्तान्तरण गरिएको हो ।
नगरपालिका कार्यालय गरिएको कार्यक्रममा नगर प्रमुख विष्टले अस्पतालका सुपरिटेन्डेन्ट हरिकृष्ण श्रेष्ठलाई ४ लाख ५६ हजारको चेक हस्तान्तरण गर्नु भयो । कार्यक्रममा नगर प्रमुख विष्टले महाकाली अस्पताल सुदूरपश्चिम प्रदेशकै पुरानो स्वास्थ्य संस्था भएकाले यसको सुधारका लागि नगरपालिका सधैं सहयोग गर्ने बताउनु भयो ।
‘यो अस्पताल भीमदत्त नगरपालिकामा पर्छ, यो यस प्रदेशकै पुरानो अस्पताल हो, यसको विकासमा नगरपालिका सधैं प्रतिवद्ध छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘ यसमा जनशक्ति व्यवस्थापन, पूर्वाधार निर्माण, सेवा सुधार लगायतका विषयमा सहयोग गर्न तयार छौ ।’
नगर प्रमुख विष्टले नगरपालिकाको मेयरमा निर्वाचित भएपछि अस्पताल सुधारलाई प्राथमिकता दिनु भएको थियो । यस अघि नगर प्रमुख विष्टले अस्पतालको गुरु योजना निर्माण गरी हस्तान्तरण गर्नु भएको थियो । भीमदत्त नगरपालिका कार्यालय र वडा नं. १८ को सहयोगमा अस्पतालको शव गृहम मर्करी चेम्बर राखिएको छ । यसमा कार्यालय र वडाले ५÷५ लाख सहयोग गरेका थिए ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिंह, अस्पताल विकास समितिका सदस्य कृष्ण भट्ट, समाजसेवी, लिलाध्वज बस्नेत, विभिन्न सञ्चार माध्यमका पत्रकारहरु सहभागी हुनु भएको छ ।