महेन्द्रनगर, २२ चैत
भीमदत्त नगरपालिकामा लकडाउनको समयमा सञ्चालन गरिएको घुम्ती सेवा बन्द गरिएको छ । सरकारको निर्णय अनुसार लकडाउनको समयमा वासिनदालाई दैनिक उपभोगका समान उपलब्ध गराउन नगरपालिका र कञ्चनपुर उद्योग बाणिज्य संघको समन्वयमा घुम्ती सेवा सञ्चालन गरिएको थियो ।
भीमदत्त नगरपालिकामा शनिबार बसेको अत्याश्वक खाद्यान्न आपूर्ति तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको थप जोखिम बढेपछि अर्को अनिश्चितकालका लागि घुम्ती पसल बन्द गर्ने निर्णय गरेको हो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट सहित जनप्रतिनिधि, समितिका सदस्यहरु सहभागी बैठकले कोरोना भाइरस संक्रमणको संवदेनशिलतालाई मध्यनजर गरी अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलालीमै कोरोना भाइरस संक्रमण पुष्टि भएर थप जोखिम बढेकोले घुम्ती सेवा बन्द गरिएको बताउनु भयो । ‘कोरोनाको दिन प्रति जोखिम बढेको छ, बेदकोटमा संक्रमण देखिएको छ, यस्तो अवस्था देखिएकाले घुम्ती सेवा बन्द गरिएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘अर्को सूचना जारी नभएसम्मका लागि पसल बन्द हुन्छन् ।’
नगर प्रमुख विष्टले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्थानीय संक्रमण देखिएकाले लकडाउनको पूर्ण पालना गरी सुरक्षित हुन सबैमा आग्रह गर्नु भएको छ ।
उपभोक्ता हिक संरक्षण मञ्च नेपालका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष प्रभुनिधि पन्तले बेदकोट नगरपालिकाका कोरोना संक्रमणका विरामी देखिएपछि घुम्ती सेवा बन्द गर्ने निर्णय स्वागत योग्य भएको बताउनु भयो । ‘यो अवस्थामा लकडाउन कडा गर्न बाहेकको विकल्प छैन’ उपाध्यक्ष पन्तले भन्नु भयो ।
भारतबाट मजदुरी गरी घर फर्किएका बेदकोट नगरपालिकाका ४१ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित क्वारेन्टाइनमा राखिएका व्यक्ति लकडाउनपछि ब्रह्मदेब हुँदै आउनु भएको थियो ।