महेन्द्रगर, २५ भदौ
भीमदत्त नगरपालिकाले बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालन र महाकाली अस्पताल सुधारका लागि बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि विमानस्थल सञ्चालन र अस्पतालका लागि बजेट विनियोजन गरिएको हो ।
भीमदत्त नगरपालिका १६ मझगाँउस्थित दुई दशक बढीदेखि बन्द विमानस्थल सञ्चालनका लागि २० लाख र अस्पताल सुधारका लागि १० लाख बजेट विनियोजन गरिएको छ । भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले बन्द रहेको मझगाउँ विमानस्थल निर्माण सहयोगका लागि चालु आर्थिक वर्षमा नगर सभाबाट बजेट विनियोजन गरिएको बताउनु भयो ।
‘सरकारले आसोजभित्रै मझगाउँ विमान स्थल सञ्चालनका लागि प्राविधिक टोली खटाउने भएको छ, अस्तिको डेलिगेसनमा माननीय मन्त्रीज्यूले प्रतिवद्धता जनाई सक्नु भएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘प्राविधिक टोलीले अध्ययनले के देखाउँछ, विमान स्थल शुचारु हुने सुनिश्चिता भए नगरपालिका थप बजेट विनियोजन गर्न तयार छ ।’
नगरपालिकाले पाँचौ नगर सभाबाट विमानस्थल सञ्चालनका लागि संकल्प प्रस्ताव समेत पारित गरिएको नगर प्रमुख विष्टले बताउनु भयो । बन्द रहेको विमान स्थल शुचारुका लागि गठित संघर्ष समितिले समेत यस अघि नै भीमदत्त नगर कञ्चनपुरका सबै स्थानीय तहसंग बजेट विनियोजन र सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको थियो ।
लामो समयदेखि चिकित्सक विहिन महाकाली अस्पताल सुधारका लागि नगरपालिकाले बजेट विनियोजन गरेको उल्लेख गर्दै नगर प्रमुख विष्टले पूर्वाधार, उपकरण र सामाजिक सेवा विस्तारका लागि बजेट अस्पताललाई बजेट विनियोजन गरिएको बताउनु भयो ।
‘अस्पताल व्यवस्थापन समितिको पदेन सदस्य भएका नाताले पनि सुधार हुने र सुधारका लागि विस्तृत योजना पेश गरे, थप बजेट दिन तयार छौँ,’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘त्यसका लागि व्यवस्थापन समिति अग्रसर हुनु पर्छ ।’
यसै गरी चालु आर्थिक बर्षमै भीमदत्त नगरपालिकाले ब्लड बैंक स्थापनाका लागि नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरलाई समेत ३ लाख रुपैया विनियोजन गरेको छ । बिरामीको अवस्था र रगत अभावका कारण कुनैपनि नागरिकले मृत्युबरण गर्नुपर्ने बाध्यताबाट मुक्तिका लागि ब्लड बैकका लागि बनेट विनियोजन गरिएको नगर प्रमुख विष्टले बताउनु भयो । गत वर्ष पनि नगरपालिकाले ब्लड बैंकका लागि रकम दिएको थियो ।
यस्तै भीमदत्त नगरपालिकाले उत्तरी भेगमा निर्माण गरेको धार्मिक पर्यटकीय मार्ग र दक्षिण शुक्लाफाँटा पर्यटन मार्ग जोड्दै बाह्य चक्र्रपथ निर्माण गर्ने भएको छ । नगर प्रमुख विष्टका अनुसार भीमदत्त नगरपालिकाका १९ वटै वडालाई भित्र राखेर बाहिरी चक्रपथ निर्माण गरिने छ ।
८३ किलोमिटर रहेको उक्त बाह्य चक्रपथको चालु आर्थिक बर्षमा निर्माण पूरा गरिने लक्ष्य लिइएको छ । यसै गरी भित्री चक्रपथ २३ देखि २७ किलोमिटरको हुनेछ । कञ्चनपुरको सबैभन्दा पूरानो नगरपालिका भीमदत्तले चालु आर्थिक बर्षमा नगरका सय बेरोजगार युवालाई रोजगारी, एक सामुदायिक वन एक पोखरी, भित्र्री र बाह्यी चक्रपथ, शुद्ध खानेपानी, शिक्षामा पुर्ण जिम्मेबारी सहितका सुशासन पारदर्शीका कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख विष्टले बताउनु भयो ।
‘भीमदत्तलाई जनप्रतिनिधि र नगरवासी सबैको सहकार्यमा समृद्ध नगर बनाउन सकिन्छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘विकासका लागि नागरिक स्तरबाट समेत साथ सर्मथन आवश्यक छ, नगरको दिगो सम्बृद्धिको अभियानमा हातेमालो गर्न म आव्हान गर्छु ।’