• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तमा मेयर गाउँघर स्वास्थ्य सेवा शिविर कार्यक्रम सञ्चालन

Byभीमदत्त अनलाइन

३ माघ २०७६, शुक्रबार १८:४० ३ माघ २०७६, शुक्रबार १८:४० ३ माघ २०७६, शुक्रबार १८:४०

महेन्द्रनगर, ३ माघ
भीमदत्त नगरपालिकामा मेयर गाउँघर स्वास्थ्य सेवा शिविर कार्यक्रम सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिकाका सबै वडामा सञ्चालन गरिने कार्यक्रम ब्रह्मदेब खल्लाबाट सुरुवात गरिएको छ ।

भीमदत्त नगरपालिकाले माघ ७ गते मनाउन लागेको प्रथम स्थापना दिवसको पूर्व सन्धयामा कार्यक्रम सञ्चालन गरिएको छ । खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कार्यक्रमको उद्घाटन गर्नु भयो ।

‘संविधानमा नै स्वास्थ्यलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ, भीमदत्त नगरपालिका संविधानको व्यवस्था अनुसार सबै नगर वासिन्दासम्म स्वास्थ्य सेवा पुगाउन चाहन्छौ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘ त्यस अनुसार सबै वासिन्दालाई सेवा पुगाउन शिविर कार्यक्रम सञ्चालन गरिएको छ, नगरका सबै वासिन्दालाई पुग्ने गरी सबै वडामा शिविर चलाउँछौ ।’

नगर प्रमुख विष्टले स्थानीय तह निर्वाचनपछि ब्रह्मदेब खल्ला, मुसेट्टी टुडीखेलका वासिन्दालाई स्वास्थ्य सेवा पुगाउन विशेषज्ञ सहितको शिविर सञ्चालन गरिएको उल्लेख गर्दै स्वास्थ्य संस्थाका पूर्वाधार बनाउन सहयोग गरिएको बताउनु भयो ।

भीमदत्त नगरपालिकाले स्वास्थ्य सेवा विस्तार गर्दै यस वर्ष एक दर्जन बढी संस्था सञ्चालनका लागि पूर्वाधार निर्माण सुरु गर्न लागिएको बताउनु भयो । ‘यस वर्ष पनि थप सेवा र संस्था विस्तार गर्छौ, त्यसका लागि यस वर्ष १३ स्वास्थ्य संस्था निर्माण कार्य केही दिनमा सुरु गर्छौ ।’

स्थानीय तह निर्वाचनपछि खल्ला, मुसेट्टी र टुँडीखेलमा सडक, सिँचाई, विद्यालय, स्वास्थ्य संस्था लगायतका पूर्वाधार निर्माण गरिएको उल्लेख गर्दै यसलाई निरन्तरता दिइने नगर प्रमुख विष्टले बताउनु भयो । ब्रह्मदेब हुँदै दार्चुला टिंकरसम्मको महाकाली कोरिडोर निर्माण कार्य सुरु गर्न लागिएको र महाकाली नदी किनारमा तटबन्ध निर्माणका लागि छलफल गरिएको नगर प्रमुख विष्टले बताउनु भयो ।

कार्यक्रममा भीनपा ९ का वडा अध्यक्ष राम नाथले स्थानीय तह निर्वाचनपछि खल्लालाई प्राथमिकता दिएको उल्लेख गर्दै टेलिफोन टावर र विद्युत विस्तारको कार्य सुरु गर्न लागिएको बताउनु भयो ।

खल्लाबाट सुरु कार्यक्रम नगरपालिका सबै वासिन्दालाई समेट्ने गरी १० स्थानमा सञ्चालन गरिनेछ । माघ १७ गतेसम्म सञ्चालन हुने शिविरमा स्वास्थ्य जाँच, परिवार नियोजन सेवा, प्रजनन स्वास्थ्य सेवा, मातृ शिशु, ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण लगायतका सेवा दिन लागिएको छ । शिविरमा स्वास्थ्य जाँच गराएका विरामीलाई औषधि समेत वितरण गरिएको छ ।

भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखा प्रमुख जनस्वास्थ्य अधिकृत नरेन्द्र राज जोशीले नगर वासिन्दालाई घरदैलोमै स्वास्थ्य सेवा पुगाउन शिविर सञ्चालन गरिएको बताउनु भयो । शिविरमा महाकाली अञ्चल अस्पतालका डाक्टरद्वय धिरज जोशी र गोविन्द रोकायाले स्वास्थ्य परीक्षण गर्नु भएको छ ।

स्वास्थ्य जाँचका लागि खल्ला शिविरमा आएका स्थानीयले नगरपालिकाको शिविरबाट स्थानीयलाई फाइदा पुगेका बताए । कम्मर दुखेर समस्या झेल्दै आएका स्थानीय मोहन सिह साउँदले घरदैलोमा शिविर आयोजना गरिएको जानकारी पाएपछि आफू जाँच गराउन आएको बताउनु भयो । ‘कम्मर दुखेर निकै समस्या छ, जानकारी पाएपछि आए, नत्र यतिका लागि टनकपुर जानु पथ्र्यो’ साउँदले भन्नु भयो,‘यो राम्रो छ, फाइदा भयो, पछि पनि गर्दै जानु पर्छ ।’

शिविरमा आएका अर्का स्थानीय नारायणदत्त अवस्थीले स्थानीय तह निर्वाचनपछि वस्तीको विकास हुँदै गएको बताउनु भयो । ‘पहिला केही पनि भएन, भोट माग्ने मात्रै काम भयो, अहिले बाटो बन्यो, विजुली आउने भनेको छ, टावर बन्दैछ, स्कुल बने, शिविर लागेको छ, यो राम्रो नै छ ’ स्थानीय अवस्थीले भन्नु भयो ।

नगर प्रमुख विष्टको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष राम नाथ, प्रेस संगठन नेपाल कञ्चनपुरका अध्यक्ष कर्ण बहादुर चन्द, महाकाली अञ्चल अस्पतालका डाक्टरद्वय गोविन्द रोकाया र धिरज जोशी, स्वास्थ्य उप शाखाका नरेन्द्रराज जोशी लगायतका स्थानीय सहभागी हुनु भएको छ ।

स्वास्थ्य तथा सरसफाई उप शाखाका अधिकृत भीम सिह महराले सञ्चालन गरेको कार्यक्रममा जनस्वास्थ्य अधिकृत जोशीले स्वगात मन्त्व्य राख्नु भएको थियो । कार्यक्रममा ब्रह्मदेब सहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण प्रदान गरिएको छ ।

स्वास्थ्य तथा सरसफाई उप शाखाका अनुसार माघ ४ गते भीनपा ९ को तुमडानी, ५ गते भीनपा ९ कै मटेना, ९ गते तिल्केनी, १० गते राजीपुर, ११ गते ऐठपुर, १४ गते हल्दुखाल, १५ गते ओदाली, १६ गते पिपरैया र १७ गते बागफाँटामा मेयर गाउँघर स्वासथ्य सेवा शिविर कार्यक्रम सञ्चालन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *