महेन्द्रनगर । भीमदत्त नगरपालिकामा मेयर उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गरिएको छ । नगर वासिन्दालाई उद्यमी व्यवसायी नेपाल बैंक लिमिटेडसित सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएको हो ।
भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेडले बिहीबार कार्यक्रम सञ्चालनका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । भीमदत्तका मेयर सुरेन्द्र विष्ट र नेपाल बैंक लि. महेन्द्रनगर शाखाका प्रबन्धक कमल बहादुर चन्दले सुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।
भीमदत्त नगरपालिका कार्यालयमा आयोजना गरिएको कार्यक्रममा हस्ताक्षरपछि मेयर विष्ट र बैंकका प्रबन्धक चन्दले एक आपशमा सम्झौता पत्र आदानप्रदान समेत गर्नु भएको छ ।
भीमदत्त नगरपालिकाको सातौं नगर सभाबाट एक सय जनालाई उद्यमी व्यवसायी बनाउने नीति तथा कार्यक्रम पारित गरिएको थियो । नगर सभाबाट पारित नीति कार्यक्रम अनुसार उद्यम व्यवसाय गर्न चाहने नगर वासिन्दाका लागि बैंकसंग ब्याज अनुदान दिएर ऋण उपलब्ध गराउन सम्झौता गरी कार्यक्रम अघि बढाएको हो ।
कार्यक्रममा कोरोना संक्रमणका कारण भारत सहित तेस्रो देशमा रोजागरी गुमाएका र रोजगारी पाउन नसकेका वासिन्दालाई प्राथमिकता दिइएको छ ।
उद्यम व्यवसाय गर्न चाहने वासिन्दाले आफ्नो व्यवसायिक योजनाको आधारमा नगरपालिकाको सिफारिशमा बैंकबाट ऋण उपलब्ध पाउन सक्ने भएका छन् । बैंकबाट लिएको ऋणको ब्याज नगरपालिकाले तिरि दिने सम्झौता उल्लेख गरिएको छ ।
भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले कोरोना संक्रमणका कारण भारत सहित तेस्रो मुलुकबाट घर फर्र्र्किएर रोजगार गुमाएका र रोजागरी पाउन नसकेका वासिन्दालाई उत्पादनसित जोड्नका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।
‘कोरोना संक्रमणका कारण भारत सहित तेस्रो देशबाट घर फर्किएर धेरै जनाको रोजागरी गुमेको छ, कति जनाले देशमै रोजागर नपाएको अवस्था छ’ मेयर विष्टले भन्नु भयो,‘उत्पादनसित नजोडेर आर्थिक क्रान्ति आउँदैन, त्यसैले उद्यमशिलता विकास गरी स्वरोजगार बनाउन कार्यक्रम ल्याएका छौ ।’
भीमदत्त नगरपालिकाको सातौ नगर सभाबाट कोरोना संक्रमणका कारण स्वास्थ्य, कृषि र उत्पादन क्षेत्रलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मेयर विष्टले उत्पादनसित जोडेर बजारीकरणसम्म सहयोग हुने गरी कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।
‘सातौ नगर सभाबाट एक सय युवालाई उद्यमी व्यवसायी बनाउने नीति नै हो, त्यसका लागि अन्य कार्यक्रम पनि सञ्चालन गरिएको छ’ मेयर विष्टले भन्नु भयो, ‘अब यो कार्यक्रमले सानो पूँजी लगाएर पनि व्यवसाय गर्न सकिने हौसला मिल्छ ।’
भीमदत्त नगरपालिकाले भारत सहित तेस्रो मुलुकबाट फर्केका वासिन्दालाई सहयोग गर्न यस अघि नै क्वारेन्टिनबाट गर्न चाहने व्यवसायका लागि लगत संकलन गरि सकेको छ । नगरपालिकाका अनुसार नगर क्षेत्रका ११ हजार भन्दा बढीको फाराम संकलन गरिएको छ ।
भीमदत्तका मेयर विष्टले कृषि र पशुपालनलाई व्यवसायीकरण नगरी आर्थिक समृद्धि असम्भव हुने उल्लेख गर्दै आर्थिक क्रान्तिका लागि उत्पादनमा जोड दिइएको बताउनु भयो ।
भीमदत्त नगरपालिका र बैंकबीच कृषि, गैर कृषि, पशु पालन र जडीबुटी लगायतका व्यवसायमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने सम्झौतामा उल्लेख गरिएको छ । व्यवसायीले विना धितो बैंकबाट ऋण लिएपछि ब्याज तिर्नु पर्ने छैन । भीमदत्त नगरपालिकाले ऋणीको ब्याज तिरि दिनेछ ।
भीमदत्त नगरपालिकाले उद्यम व्यवसाय गर्न चाहने व्यक्तिलाई कर्जा उपलब्ध गराउन अघि बैंकमा कोष स्थापना गर्ने सम्झौता गरिएको छ । नगरपालिकाले कोषमा जम्मा गर्ने रकमको आधारमा बैंकले कर्जा दिन लागेको हो । त्यसका लागि यस वर्ष नगरपालिकाले बैंकको कोषमा एक करोड रकम जम्मा गर्न लागेको छ ।
भीमदत्तका मेयर विष्टले पहिलो चरणमा कोषमा एक करोड रकम जम्मान गरी कार्यक्रम अघि बढाइन लागेको जानकारी दिनु भयो ।
‘पहिलो वर्ष एक करोडबाट सुरु गर्छौ, यो परीक्षणका रुपमा हुन्छ’ मेयर विष्टले भन्नु भयो,‘नगरपालिकाले एक करोड जम्मा गर्दा दुई करोडसम्म ऋण प्रवाह गर्छ, अर्को वर्ष यसलाई बढाउँदै लैजान्छौ ।’
भीमदत्त नगरपालिकाले कार्यक्रमका मेयर उद्यमशिलता कार्यक्रमका लागि निर्देशिका र सहुलितयपूर्ण कर्जामा ब्याज अनुदान कार्यविधि बनाई सकेको छ ।
सम्झौतामा हस्ताक्षर कार्यक्रममा नेपाल बैंक लि. महेन्द्रनगर शाखाका प्रबन्धक कमल बहादुर चन्दले तिहारपछि सम्झौता अनुसार कर्जा उपलब्ध गराउन सुरु गरिने बताउनु भयो ।
छोरा छोरी पढाउन सकियोस, जीविकोपार्जन गर्न सकिने भन्ने दिर्घकालिन रुपमा व्यवसाय गर्न सकियोस भन्ने लक्ष्य लिएर कार्यक्रम सञ्चालन गरिएको छ’ प्रबन्धक चन्दले भन्नु भयो,‘ आज सम्झौता भएको छ, अब तिहारपछि सुरु गर्छौ ।’
बैंकका प्रबन्धक चन्दले कार्यक्रम सञ्चालनका लागि बंैकमा छुट्टै इकाई खडा गरी कार्यक्रम अघि बढाइने बताउनु भयो । ‘यसमा अरु कर्जा जस्तो हुँदैन, कर्मचारीको छुट्टै युनिट खडा गरी सेभेन वर्कस डेभित्र सक्ने गरी काम गर्छौ’ प्रबन्धक चन्दले भन्नु भयो ।
बैंकका प्रबन्धक चन्दले सहुलियत पूर्ण कर्जामा पनि पुरुषलाई ३ दशमलव ८ र महिलालाई २ दशमलव ८ प्रतिशत ब्याजमा ऋण दिइने बताउनु भयो । ‘बैंकले त्यो ब्याज नगरपालिकाको कोषबाट कट्टा गर्छ, त्यस बाहेकको अरु ब्याज चाहिँ सरकारले व्यहोर्छ ।’
सरकारको नीति अनुसार नेपाल बंैक लिमिटेडले ६ दशमलव ८ प्रतिशत ब्याजमा सहुलितयपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ । बंैक प्रबन्धक चन्दले उद्यमी व्यवसायी छनौटदेखि सिफारिशसम्म नगरपालिका र बैंक सहकार्य हुने बताउनु भयो ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले आर्थिक अभावमा उद्यम व्यवसाय गर्न समस्या भएका नगर वासिन्दाका लागि कार्यक्रम ऐतिहासिक अवसर भएको बताउनु भयो ।
‘भीमदत्त नगरपालिका कार्यपालिकाले यो कार्यक्रम एउटा ऐतिहासिक अवसरमा रुपमा ल्याएको छ, यसबाट व्यवसाय गर्न चाहनेलाई वासिन्दालाई निकै फाइदा छ’ प्रमुख प्रशासकीय अधिकृत भट्टले भन्नु भयो ।
भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरि सिह धामीले सम्झौता पत्र वाचन गर्नु भएको थियो । भीमदत्त नगरपालिकाका उप मेयर सुशिला चन्द सिह, प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट तथा बैंकका कर्जा शाखाका विनोद प्रकाश भट्ट र पदमराज जोशी सम्झौता पत्रका रोहरबर बस्नु भएको छ ।
कार्यक्रममा कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले ऋण सदुपयोलाई ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नगर उप मेयर सुशिला चन्द सहित कार्यपालिका सदस्य, कर्मचारी, उद्यमी व्यवसायी, पत्रकार लगायतका सहभागी भएका छन् । भीमदत्त नगरपालिकाका नगर प्रमुखको सचिवालयका कर्मचारी दिनेश भट्टले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।