महेन्द्रनगर, १० बैशाख
भीमदत्त नगरपालिकाले लकडाउनले समस्यामा परेका विपन्न र मजदुरहरुलाई घरदैलोमै पुगेर राहत उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको जनाएको छ । नगरपालिकामा राहत वितरणका लागि गठन गरिएको आपतकालिन प्रतिकार्य समितिले प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिका क्षेत्रमा विपन्न र मजदुहरुलाई सरकारी मापदण्ड अनुसार राहत वितरण गरिएको जानकारी दिएको छ ।
समितिका संयोजक प्रेम प्रसाद जैसी, सूचना अधिकारी हरि सिह धामी र समितिका सदस्य सचिव गणेश ठगुन्नाको हस्ताक्षर रहेको विज्ञप्तिमा कोरोना महामारीमा नगरपालिकालाई सहयोग गर्न सबै संघ संस्था व्यक्ति सबैमा आभार व्यक्त गरेको छ । समितिले कोेरोना रोकथामका लागि आगामी दिन समेत सहयोगको अपेक्षा राख्दै कोरोना विरुद्ध सहकार्य र समन्वयका लागि नगरपालिका सधैं प्रतिवद्ध रहेको जनाएको छ ।
असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धि मापदण्ड २०७६ अनुसार नगरपालिकाका १९ ओटै वडामा राहत वितरण गरिएकोमा राहत वितरण कार्यलाई विवादमा पार्ने गरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा अपवाह फैलाएकोमा समितिले चिन्ता जाहेर गरेको छ ।
समितिले मापदण्ड अनुुसार राहत वितरण गरिएकाले भ्रमित नहुन सबै नगरवासीमा आग्रह गर्दै भीमदत्त नगरपालिका कोरोना रोकथामका लागि संघ र प्रदेश सरकारसित सहकार्य गरी निरन्तरत रुपमा सक्रिय रहने विज्ञप्तिमा उल्लेख गरिएको छ । भीमदत्त नगरपालिकामा राहतका लागि सबै वडामा झण्डै सात हजार वासिन्दाको नामावली संकलन गरिएको छ ।