• Thu. Nov 14th, 2024

भीमदत्त नगरपालिकामा सात हजार मजदुर र विपन्न परिवारलाई राहत

Byभीमदत्त अनलाइन

२० बैशाख २०७७, शनिबार १७:५८ २० बैशाख २०७७, शनिबार १७:५८ २० बैशाख २०७७, शनिबार १७:५८

महेन्द्रनगर २० बैशाख
भीमदत्त नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि गरिएका बन्दाबन्दी(लकडाउन) ले समस्या परेको झण्डै सात हजार मजदुर र विपन्न परिवारलाई राहत उपलब्ध गराएको छ । संघीय सरकारको मापदण्ड अनुसार नगरपालिकाका सबै वडाबाट विपन्न, असहाय र दैनिक ज्याला मजदुरी गर्ने परिवारको तथ्याङ्क संकलन गरी एकद्वार प्रणाली मार्फत राहत प्रदान गरिएको छ । 

सरकारले एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने मापदण्ड बनाएपछि गत चैत अन्तिम सातादेखि राहत वितरण सुरु गरिएको थियो । भीनपा ११ का अध्यक्ष प्रेम प्रसाद जैसीको नेतृत्वमा राहत वितरणका लागि समिति गठन गरी कार्य सुरु गरिएको थियो ।

भीमदत्त नगरपालिकाका १९ ओटै वडाका ६ हजार ७ सय ७१ परिवारलाई राहत वितरण गरिएको छ । भीनपा १८ मा सबैभन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ । वडा नं. १६ मा राहत पाउने एक हजार ६ सय परिवार छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले संघीय सरकारको लकडाउनका कारण समस्यामा परेका विपन्न, मजदुर परिवारलाई राहत दिने नीति अनुसार सबै वडाबाट तथ्याङ्क संकलन गरी राहत उपलब्ध गरिएको बताउनु भयो ।
‘संघीय सरकारको मापदण्ड अनुसार सबै वडाबाट आएको संख्याका आधारमा राहत उपलब्ध गराइएको छ,’ नगर प्रमुख विष्टले भन्नु भयो,‘त्यो राहत सम्बन्धित परिवारले पाए नपाएको अनुमगन समेत भई रहेको छ ।’

भीमदत्त नगरपालिकामा नगर उप प्रमुख सुशिला चन्द सिह नेतृत्वको राहत अनुगमन समिति गठन गरिएको छ । समितिले सबै वडामा अनुमगन गरि सकेको छ । नगरपालिका कार्यालयले विभिन्न क्षेत्रबाट सहयोग स्वरुप आएको र खरिद गरी लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत उपलब्ध गराएको हो । सरकारले एकद्वार प्रणालीका आधारमा स्थानीय तह मार्फत राहत उपलब्ध गराउने मापदण्ड बनाएपछि विभिन्न संघ संस्थाले नगरपालिकालाई खाद्यान्न लगायतका राहत सामग्री सहयोग गरेका छन् ।

कोरोना रोकथामका लागि नगरपालिकाले स्थापन गरेको विपद् व्यवस्थापन कोषमा विभिन्न क्षेत्रबाट नगद सहयोग समेत संकलन गरिएको छ । नगरपालिकाले पाँचौ नगर सभाबाट विपद् व्यवस्थापनका लागि कोष स्थापना गर्ने निर्णय अनुसार नगरपालिकाबाट ६१ लाख जम्मा गरिएको थियो ।

भीमदत्त नगरपालिकामा राहत वितरणका लागि सम्बन्धित वडा अध्यक्षको नेतृत्वमा जनप्रतनिधि, टोल समितिका पदाधिकारी, नगरपालिकाका कर्मचारी र नगर प्रहरी परिचालन गरिएका छन् । भीनपाका सूचना अधिकारी हरि सिह धामीले सामाजिक दुरी (सोसल डिस्टेन्स) कायम गरी सबै वडामा संघीय सरकारको मापदण्ड अनुसार राहत वितरण गरिएको बताउनु भयो । ‘वडा कार्यालयको मातहतमा रहेर टोल समिति मार्फत टोल टोलमा राहतको वितरण गरिएको छ’ सूचना अधिकारी धामीले भन्नु भयो, ‘सोसल डिस्टेन्स कायम गरी चामल, दाल, तेल, नुन, साबुन, लगायतका राहत सामाग्री वितरण गरिएको छ ।

सूचना अधिकारी धामीले एकद्वार प्रणाली अन्र्तगत सबैलाई समान रुपमा मापदण्डका आधारमा राहत वितरण गरिएको बताउनु भयो । ‘कसैलाई दोहोर रुपमा राहत वितरण नगरिएको र सबैलाई बराबर रुपमा राहत बाडिँएको छ’ सूचना अधिकारी धामीले भन्नु भयो ।

सरकारी मापदण्ड अनुसार बाँडिएको राहत पाएपछि मजदुर र विपन्न परिवारले लकडाउनमा छाक टार्न सहज भएको बताए । भीनपा १८ सालघारी सुकुम्बासी टोलका जया दमाईले लकडाउनले समस्यामा परेको बेला राहत पाएपछि छाक टार्न सहज भएको बताउनु भयो । सिलाई पसलमा काम गरी दैनिक छाक टार्दै आएका दमाई लकडाउनले पसल बन्द भएपछि समस्या पर्नु भएको थियो । ‘पसल बन्द भयो, अनि समस्या भयो, त्यहीं बेलामा राहत पाएपछि सहज भयो’ दमाईले भन्नु भयो ।

भीनपा कार्यालयका अनुसार राहत पाउनेमा वडा नं. १ मा ३ सय १०, २ मा एक सय ३५, ३ मा ३ सय २५, ४ मा ७ सय ७६ परिवार र ५ मा ३ सय ७६ परिवारले राहत पाएका छन् । यसैगरी वडा नं. ६ मा ३ सय २०, ७ मा ४ सय, ८ मा २ सय, ९ मा ४ सय ९०, १० मा ७ सय, ११ मा १ सय ८०, १२ मा १ सय ७५ परिवार राहत पाउनेमा छन् । भीनपा वडा नं. १३ मा १ सय ४४, १४ मा १ सय ३४, १५ मा १ सय ४५, १६ मा एक सय, १७ मा एक सय, १८ मा १ हजार ६ सय र १९ मा १ सय ६१ परिवारलाई राहत वितरण गरिएको छ ।

सरकारले चैत ११ गतेदेखि कोरोना महामारी रोकथामका लागि बन्दाबन्दी घोषणा गरेको थियो । भीमदत्त नगरपालिकामा भने त्यसको दुई दिन अघि नै लकडाउन गरिएको थियो । पश्चिमी सीमा नाका गड्डाचौकीका कारण संघीय सरकारको घोषणा अघि नै लकडाउन गरिएको थियो । सरकारले पछिल्लो पटक बैशाख २५ गतेसम्म लकडाउन अवधि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *