महेन्द्रनगर, ६ माघ
भीमदत्त नगरपालिकाले मंगलबार पहिलो पटक आफ्नो स्थपाना दिवस मनाउन लागेको छ । स्थानीय तह निर्वाचनपछि पहिलो पटक स्थापना दिवस मनाउन लागिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको प्रमुख आतिथ्यमा मनाउन लागेको स्थापना दिवसको तयारी पूरा गरिएको छ ।
नगरपालिका कार्यालयमा मञ्च व्यवस्थापन गरिएको छ । कार्यालयलाई ध्वजापाताले सिंगारिएको छ । कार्यालयमा औपचारिक कार्यक्रम अघि विहान बजारमा प्रभातफेरी कार्यक्रम राखिएको छ । खुला मञ्चमा सुरु हुने प्रभातफेरीमा विभिन्न साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ ।
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले दुई दशक बढी समयसम्म स्थापना दिवस समेत मनाउन नसकिएकाले जनप्रतिनिधि आएपछि पहिलो पटक दिवस मनाउन लागिएको बताउनु भयो । भीमदत्तका नगर उप प्रमुख सुशिला चन्द सिह नेतृत्वको दिवस मूल आयोजक समिति गठन गरिएको छ ।
नगरपालिका स्थापना दिसवले नेपाल भ्रमण वर्ष २०२० लाई समेत सफल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैबीच स्थापना दिवसको पूर्व सन्धामा ‘समृद्ध भीमदत्त नगरका आधार’ शिर्षकमा माध्यामिक स्तरिय वकृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा निङलाशैनी माविकी छात्रा पुजा नेगी प्रथम भएकी छिन् ।
आदर्श विद्या निकेतनका छात्र पुजा सोनार द्वितृय र राष्ट्रिय बाल विद्यालयकी छात्रा भावना जोशी तृतिय भएका छन् । भने महेन्द्रनगर माविका छात्र टेकराज भट्ट चर्तुथ र डायमण्डका छात्रा अनिता जोशी पाचौँ भएका छन् ।
निर्णयक तर्फ सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख प्रा.डा भुपेन्द्र सिह विष्ट रहेका थिए । प्रतियोगितामा प्रथमलाई ५ हजार, द्वितियलाई ३ हजार, तृतिय २ हजार र सान्तवनालाई एक/ एक हजार नगद नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ । सामाजिक विकास समितिका संयोजक हरक सिह धामीको अध्यक्षतामा गरिएको कार्यक्रममा शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।