महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘तीनै तहका सरकार: मानव बेचविखन विरुद्धको सरोकार’ भन्ने मुल नाराका साथ मानव बेचविखन तथा ओसारपसार विरुद्धको १६ औँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । सोमबार उक्त दिवसका अवसरमा महेन्दनगर बजारमा वृहत र्याली निकालिएको छ ।
विभिन्न सचेतनाका ब्यानर सहित नगरपालिकाबाट शुरु भएको र्याली महेन्द्रनगर बजार परिक्रमा गरिएको थियो । गैर सरकारी संघ संस्थाहरुको समन्वयमा भीमदत्त नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नगर उप–प्रमुख नीलम लेखक जोशीले मानव बेचविखन तथा ओसारपसार न्यूकरणका लागि नगरपालिकाका लागि सबैले आफ्नो क्षेत्रबाट सक्रिय रुपमा लाग्नुपर्ने बताउनु भयो ।
‘यो अपराध न्यूनिकरणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय रुपमा लाग्नु पर्छ ।’ उहाँले भन्नुभयो ‘र नगरपालिका मानव बेचविखन तथा ओसारपसार विरुद्ध यहाँहरु संग निरन्तर हातेमालो गर्न तयार रहेको छ ।’
यस्तै भीमदत्त नगरपालिकाले उक्त दिवसका अवसरमा माध्यमिक तह स्तरिय वक्तृत्व कला प्रतियोगिता समेत आयोजना गरेको थियो । ‘मानव बेचविखन विरुद्ध हाम्रो भूमिका’ विषयक वक्तृत्व कला प्रतियोगितामा प्रथम,द्धितिय र तृतियलाई नगरपालिकाले नगद सहित प्रमाणपत्र वितरण गरेको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताउनु भयो ।
उहाँकाअनुसार मानव बेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको वक्तृत्व कला प्रतियोगितामा ३७ जना विद्यर्थी सहभागि भएका थिए ।