• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकाले यसरी मनायो दोस्रो स्थापना दिवस

Byभीमदत्त अनलाइन

८ माघ २०७७, बिहीबार १६:२० ८ माघ २०७७, बिहीबार १६:२० ८ माघ २०७७, बिहीबार १६:२०

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले ४३ औं वर्ष दोस्रो स्थापना दिवस मनाएको छ । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यमा स्थापना दिवस समारोह गरिएको छ ।

कोभिड १९ संक्रमणका कारण गत वर्षझै कार्यक्रम नगरी स्थापना दिवस समारोह गरिएको छ । कार्यक्रममा शुभ कामना मन्तव्य, साँस्कृतिक प्रदर्शन, पुरस्कार वितरण लगायतका कार्यक्रम गरिएका छन् ।

भीमदत्त नगरपालिकाका उप मेयर सुशिला चन्द सिहको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा उप मेयर चन्दले स्थानीय तह निर्वाचनपछि नगरको विकासलाई दु्रततर बनाइएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि नगरपालिका संघका अध्यक्ष ब्याञ्जुले नगरपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्रमा प्रगिति हासिल गर्दै गएको उल्लेख गर्दै नगरको विकासमा संघका साथ र सहयोग हुने धारणा राख्नु भयो ।

संघका अध्यक्ष व्याञ्जुले भीमदत्त नगरपालिकामा डायलोसिस सेन्टर सञ्चालन गर्ने घोषणा समेत गर्नु भयो । ‘यो कार्यक्रमबाट म नगरपालिको संघको तर्फबाट एक महिनाभित्रै भीमदत्त नगरपालिकामा डायलोसिस सेन्टर सञ्चालनका लागि प्रतिवद्धता गर्छु’ अध्यक्ष व्याञ्जुले भन्नु भयो, ‘संघ नगरपालिकाको अन्य सहयोग गर्न नि तयार छ ।’

संघका अध्यक्ष व्याञ्जुले संघल जर्मनको दातृ निकायको सहयोगमा देशका २० सहरमा डायलोसिस सेन्टर सञ्चालनका लागि सम्झौता हुन लागेको बताउनु भयो । जर्मनसितको सझौता अनुसार नेपालमा आउने दुई हजार ह्विलचेयरमध्ये एक सय ओटा भीमदत्तलाई प्रदान गरिने पनि अध्यक्ष व्याञ्जुले बताउनु भयो ।

कार्यक्रममा स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिका आर्थिक रुपमा सशक्त सहरका रुपमा देखिएकोमा मेयर सुरेन्द्र विष्टको प्रशंसा गर्नु भयो । ‘चुनावबाट निर्वाचित भएर पछि यता बजेट कति थियो, त्यो अहिले बढेर अर्ब पुगेको छ’ अध्यक्ष व्याञ्जुले भन्नु भयो, ‘त्यसले यो सहर आर्थिक रुपमा सशक्त हुने दिशमा गएको छ, यसका लागि मेयर सापको नेतृत्वलाई धन्यवाद दिन्छु ।’

संयुक्त राष्ट्र संघले सन् २०३० सम्म विश्वबाट गरीबि अन्त्य गर्ने लक्ष्य लिएकाले त्यसलाई पूुरा गर्न स्थानीय सरकार सहित तीनै तहले भूमिका निर्वाह गर्नु पर्ने अध्यक्ष व्याञ्जुको भनाई थियो ।

कार्यक्रममा पूर्ज जिल्ला विकास समितिका उप सभापति राजेन्द्र सिह रावल, दोधारा चाँदनी नगरपालिकाका उप मेयर चिनी गिरी, प्रमुख जिल्ला अधिकारी राम कुमार महतो, साहित्यकार बीर बहादुर चन्द, पूर्व वन अधिकृत रमेश चन्द, गायक केशव गिरी, शारदा विद्यापिठका प्रमुख भोजराज जोशी, अधिवक्ता पुनम चन्द, कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्ल लगायतले शुभ कामना मन्तव्य राख्नु भयो ।

कार्यक्रममा भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले मन्त्वय राख्दै नगरको विकास र समृद्धिका लागि सबै क्षेत्रको साथ र सहयोग लिएर अघि बढेको बताउनु भयो । ‘नगरको विकास र समृद्धि केबल जनप्रतिनिधि, कर्मचारीले मात्रैले पुग्दैन, सबै नगर वासिन्दा, सरोकारवाला सबैको सहयोग आवश्यक हुन्छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘एक अर्काको सहयोगबाटै समृद्धि आउने कुरामा ढुक्क छौ, सहकार्य र साझेदारीलाई जोड दिएका छौ ।’

स्थानीय तह निर्वाचनपछि भित्री र बाह्य चक्रपथ सहित विकासका पूर्वाधार निर्माण गरिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले राष्ट्रिय स्तरका महत्वका योजना सञ्चालनका लागि समेत पहल गरिएको धारणा राख्नु भयो ।

‘महाकाली नदीमा चार लेनको पक्की पुल र दोधारा चाँदनीबाट सुख्खा बन्दरगाह बन्दैछ, त्यसबाट अब भीमदत्त नगरपालिका समुद्रपारसम्मको व्यापार गर्छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘मझगाउँ विमानस्थल सञ्चालन, महाकाली सिँचाईको तेस्रो चरण,महाकाली कोरिडोर निर्माण लगायतका पनि नगरपालिका सधैं पहल गर्दै आएको छ ।’

संविधानमा मौलिक हकका रुपमा राखिएको स्वास्थ्यमा सबै नगर वासिन्दाको सहज पहुँच बनाउन पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन गरिएको नगर प्रमुख विष्टले बताउनु भयो ।

वासिन्दालाई घरदैलोमै स्वास्थ्य सेवा पुगाउन सबै वडामा स्वास्थ्य संस्था स्थापना गर्न लागिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले यस वर्ष मात्रै स्वास्थ्यका १४ भवन निर्माण सुरु गरिएको बताउनु भयो ।

नेपाल विद्युत प्राधिकरणसित सहकार्य गरी महेन्द्रनगर बजारमा स्मार्ट बत्ती लाइट जडानका लागि सम्झौता गरिएको मेयर विष्टले उल्लेख गर्नु भयो ।

स्मार्ट लाइट जडानका लागि गत महिना काठमाडौंमा प्राधिकरणसित एक करोड १३ लाखको सम्झौता गरिएका थियो ।
‘स्मार्ट लाइट जडानको सम्झौता गरिएको छ, त्यसमा एक करोड १३ लाखमध्ये ६० प्रतिशत नगरपालिका व्यहोर्छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘अब केही दिनमा यो काम अघि बढ्छ ।’

राजश्व प्रणाली सुधार गरी स्थानीय तह निर्वाचनपछि भीमदत्तले आन्तरिक आम्दानीमा फड्को मारेको छ । स्थानीय निर्वाचन हुँदा नगरपालिकाको आन्तरिक आम्दानी पाँच करोड हाराहारी मात्रै थियो । अहिले यो आम्दानी बढेर ३० करोडसम्म पुग्ने अनुमान गरिएको छ ।

‘पुस २५ गतेसम्म १० करोड राजश्व संकलन भएको छ, यो वर्ष ३० करोडसम्म पुग्ने अनुमान गरिएको छ’ कार्यक्रममा मेयर विष्टले भन्नु भयो, ‘करको दायरा बढाएका छौ, कर वृद्धि गरिएको छैन, कर प्रणाली सुधार गरी यसमा सुधार ल्याएका छौ ।’

स्थानीय तह निर्वाचनमा गरिएका प्रतिवद्धता अनुसार छाडा पशु चौपाया व्यवस्थापन गरिएको मेयर विष्टले बताउनु भयो ।

नगरपालिकाले छाडा चौपाया मुक्त सडक बनाएको उल्लेख गर्दै भन्नु भयो, ‘केही महिना अघिसम्म सडकमा चौपाया थिएन, त्यसपछि सडकमा लिएर छाड्ने काम गरियो, यसले फेरि समस्या खडा गरेको छ, यसलाई अन्त्यहिन समस्या बनाउने काम भएको छ, त्यसैले प्रत्येक नागरिक सचेत हुनु आवश्यक छ ।’

छाडा पशु चौपाया सडकमा लिएर छाड्ने प्रवृत्तिले मानवीय संवेदनामाथि प्रश्न उठेको उल्लेख गर्दै नगर प्रमुख विष्टले आमा बुवालाई समेत वृद्धाश्रममा छाडिने प्रवृत्ति देखिन सक्ने चिन्ता व्यक्त गर्नु भयो ।

भीमदत्तलाई क्लिन सिटी ग्रिन सिटी बनाउने लक्ष्य लिएर अघि बढेको मेयर विष्टको भनाई थियो । एक घर दुई विरुवा विरुवा वितरण र निरन्तर सरसरफाई अभियान सञ्चालन गरी नगरलाई सफा स्वच्छ र हरित नगर बनाउने अभियानलाई निरन्तरता दिइएको मेयर विष्टले भन्नु भयो ।

भीमदत्तका सबै वासिन्दालाई स्वच्छ खानेपानी पुगाउन विभिन्न वडामा खानेपानी योजना सञ्चानमा आएको उल्लेख गर्नु भयो । नगर प्रमुख विष्टले भीमदत्त नगरपालिका ८ तिलाचौरमा निर्माणाधिन तिलाचौर खानेपानी योजना सहित वडा नं. २, १९, १० लगायतमा योजना सञ्चालन अघि बढेको बताउनु भयो ।

शिक्षाको विकासका लागि पूर्वाधार निर्माण सहित यस वर्ष महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि तयारी गरिएको मेयर विष्टले बताउनु भयो ।

‘महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि नगर सभामा विधेयक टेबुल गरिएको छ, विधेयक पारित भएर सञ्चालन प्रक्रिया अघि बढ्छ’ नगर प्रमुख विष्टले भन्नु भयो ।

नगरपालिका सञ्चालनका लागि ६ दर्जन हाराहारीमा कानुन निर्माण गरिएको नगर प्रमुख विष्टले बताउनु भयो । कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पुगाउने व्यक्तित्वलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

सम्मानित हुनेमा भीमदत्त नगरपालिका १६ का लोक बहादुर कार्कीलाई सहिद भीमदत्त पन्त किसान पुरस्कार, भीनपा ६ का स्वर्गिय दुर्गादत्त जोशीलाई सहिद दशरथ चन्द लोकतन्त्र पुरस्कार र भीनपा १८ का केशव गिरीलाई सहिद गोविन्द गौतम सीमा सुरक्षा पुरस्कार प्रदान गरिएको छ । जोशीलाई मरणोपरान्त पुरस्कार दिइएको छ ।

सम्मानित सबैलाई नगद १५ हजार १ रुपैँया सहित सम्मान पत्र प्रदान गरिएको छ । महाकाली साहित्य सङ्गमका अध्यक्ष साहित्कार बीर बहादुर चन्दलाई पहलमान सिह स्वाँर साहित्य पुरस्कार, मोहन बहादुर थापालाई बाकाबीर खेलकूद पुरस्कार, अधिवक्ता पुनम चन्दलाई जय पृथ्वी बहादुर सिह मानव अधिकार पुरस्कार, नारादेबी जोशीलाई द्वारिकादेवी ठकुरानी शिक्षा पुरस्कार, आजको नयाँ विकल्प दैनिकका सम्पादक माधव सिह धामीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार, नासाका वैज्ञानिक भीनपा ४ का राजेन्द्र भट्टलाई विज्ञान प्रविधि पुरस्कार, भीमदत्त नगरपालिका १८ की माया भट्टलाई असहाय सेवा सहयोग पुरस्कार, भीनपा १ का रबिन्द्र कुँबरलाई वन वातावरण संरक्षण पुरस्कार, युवा व्यवसायी बल बहादुर खड्कालाई उत्कृष्ठ करदाता पुरस्कार, भीनपा १६ का रमेश चन्दलाई प्रेम सिह धामी प्राकृतिक सम्पदा संरक्षण पुरस्कार र देउडा गायिका रेखा जोशीलाई एनडी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार र पूर्व वन अधिकृत रमेश चन्दलाई प्रदान गरिएको छ ।

सम्मानित सबैलाई नगद १५ हजार १ रुपैँया सहित सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु, भीमदत्तका मेयर विष्टले सबैलाई दोसल्ला ओढाएर नगद सहित सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

गत वर्षको प्रथम स्थापना दिवस समारोहबाट विभिन्न क्षेत्रमा योगदान पुगाउने व्यक्तित्वलाई पुरस्कार प्रदान गरिएको हो । स्थानीय तह निर्वाचनपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा घाँसे मैदानमा कार्यपालिका बैठक गरी विभिन्न क्षेत्रमा योगदान पुगाउने सुदूरपश्चिम क्षेत्रमा जन्मिएका व्यक्तित्वको सम्मानमा पुरस्कार स्थापना गरिएका थियो ।

यसैगरी कार्यक्रममा नगरपालिकाका बहालवाला र अवकाश प्राप्त कर्मचारीलाई पनि सम्मान गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नरेन्द्ररा जोशी सहित वातावरण अधिकृत गणेश ठगुन्ना, ल्याब असिस्टेन्ट गणेशदत्त भट्ट, वडा सचिव भोजराज जोशी, खरिदार पदम ठकुराठरी, अमिन लोकराज पन्त, परिचालक शोभा धामी, नगर प्रहरी रमेश चन्द, कार्यालय सहयोगी नरेन्द्रराज पनेरु, चालक चुलुवा खुना, कुचीकार बिर बहादुर खुना थारु र माली जोगी सिहलाई सेवा पदक प्रदान गरिएको छ । सबै जनालाई पदक सहित टोली र पं्रशंसा पत्र प्रदान गरिएको छ ।

नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रेम सिह कुँबर सहित सेवा निवृत्त कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ । सम्मानित हुनेमा कुबर सहित अधिकृत अजव सिह भण्डारी, खरिदार नारायण दत्त लेखक, स्वर्गिय वडा सचिव खगेश्वर शर्मा, हेल्पर जय बहादुर राना, कार्यालय सहयोगीहरु गेडे खडका र बल्देब भट्ट छन् ।

सेवा निवृत्त सबैलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित टोपी प्रदान गरिएको छ । कार्यक्रमका सभाध्यक्ष भीमदत्तका उप मेयर सुशिला चन्द सिह, प्रमुख जिल्ला अधिकारी राम कु्मार महताले पदक सहित सम्मान गरे ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले स्वागत मन्त्वय राखेको कार्यक्रममा सुदूरपश्चिमको चर्चित गौरा पर्व, राना थारु समुदायको नाच लगायतका साँस्कृतिक प्रस्तुती देखाइएका छन् ।

नगरपालिकाका इन्जिनियर गोरख बहादुर सिह सहित कर्मचारीहरु सुवास अधिकारी, गोमा अवस्थी लगायतले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार व्याञ्जुले पानसमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।

                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *