महेन्द्रनगर, १५ माघ
भीमदत्त नगरपालिकाले २५ वर्षे रणनीतिक गुरु योजना बनाउन लागेको छ । भीमदत्त समृद्धिको आधार पर्यटन, शिक्षा, कृषि र व्यापार भन्ने अघि सारी नगरपालिकलो सरोकारवालासंग छलफल सुरु गरिएको छ ।
योजना बनाउन दुई चरणमा रणनीतिक गुरु योजनाका लागि छलफल गरिएको छ । पहिलो चरणमा १ देखि ९ र दोस्रो चरणमा १० देखि १९ वडासम्मका जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, बुद्धिजीवि, किसान, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थी महिला नागरिक समाजका अगुवासंग छलफल गरिनेछ । यस अघि गत साउनमा वडाहरुमा कार्यक्रम गरिएको थियो ।
भीमदत्त नगरका नगर प्रमुख सुरेन्द्र विष्टले समय सापेक्ष जन चाहना अनुसार विकासका लागि गुरु योजना अघि सारिएको बताउनु भयो । ‘अहिले बनेका संरचना योजना अनुसार बनेन,’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘अब बन्ने संरचना योजनाबद्ध अनुरुप हुनेछन्, दिगो विकास र समृद्धिका लागि २५ वर्षे गुरु योजना निर्माण गर्न सरोकारवालासंग गहन छलफल गरी तीन महिनाभित्र गुरु योजना बन्छ ।’
दुई चरणमा हुने छलफल कार्यक्रममा समूहगत छलफलबाट आएका निष्कर्षका आधारमा नगर विकासका मोडेललाई एकीकृत रुपमा दिइने छ । ‘सबै वडाबाट गुरु योजना निर्माणका लागि खाका र प्रस्ताव आईरहेको छ, नगर प्रमुख विष्टले भन्नु भयो, ‘सबै क्षेत्रबाट आएका सुझावको एकिकृत रुप दिईनेछ ।’
योजनामा नयाँ शहरको मोडेल, भू–उपयोग, बजेट वितरण, विकास, स्रोत साधन वितरण, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार, समाजिक विकास, भौतिक पूर्वाधार, पर्यटन, साँस्कृतिक, ऐतिहासिक क्षेत्र, कृषि, ढल निकास, बजार व्यवस्थापन, पर्यावरण फोहोर व्यवस्थापन लगायतका विषय समावेश गरिने भएका छन् ।
भीनपा ९ का अध्यक्ष राम नाथले महाकाली नदीको बहुपयोग, धार्मिक पर्यटनमा जोड दिनु भयो । वडा अध्यक्ष नाथले आफ्नो वडामा प्राकृतिक, धार्मिक ऐतिहासिक सम्भावना भएको बताउनु भयो । भीमदत्त नगरपालिकाका २८ हजार घरधुरी छन् । नगरपालिकाको एक लाख ५४ हजार जनसंख्या छ ।