महेन्द्रनगर, १९ साउन
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट अध्ययन भ्रमणका लागि विदेश प्रस्थान गर्नु भएको छ । नेपाल नगरपालिका संघको व्यवस्थापनमा गरिएको दिशाजन्य लेदो पदार्थ व्यवस्थापन सम्बन्धी अध्ययन भ्रमणका लागि आइतबार विदेश प्रस्थान गर्नु भएको छ ।
एक साता लामो अध्ययन भ्रमणका क्रममा मलेसिया र इण्डानेशियामा दिशाजन्य लेदो पदार्थ व्यवस्थापन प्लान्टको अध्ययन र व्यवस्थापन सम्बन्धी छलफल गरिने नगर प्रमुख विष्टले बताउनु भयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान गर्नु अघि वहाँले भन्नु भयो, ‘दिशाजन्य लेदो पदार्थ व्यवस्थापनका लागि नगरपालिका संघ र भीमदत्त नगरपालिकाबीच गत वर्ष परियोजना सञ्चालनका लागि समझदारी भएको थियो, त्यसै परियोजना अन्र्तगत मलेसिया र इण्डानेशियामा रहेका दिशाजन्य पदार्थ व्यवस्थापन गरिएका प्लान्टहरुको अध्ययनका लागि भ्रमण राखिएको छ, आज मलेसिया जान्छौ, त्यसपछि इण्डोनेशिया गएर अध्ययन गर्छौ ।’
मलेसिया र इण्डोनेशियापछि सिंगापुर जाने कार्यक्रम रहेको भ्रमणमा प्लान्टहरुको अध्ययनका साथै दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम समेत राखिएको छ ।
नगरपालिका संघको Sanitation Champion Mayors का रुपमा नगर प्रमुख विष्ट सहित संघका नेपाल नगरपालिका संघका पदाधिकारी, लेदोजन्य पदार्थ व्यवस्थापन परियोजना सञ्चालन भएका भीमदत्त सहित अन्य चार नगरपालिकाका नगर प्रमुखहरु सहभागी छन् ।
लेदोजन्य व्यवस्थापन परियोजना भीमदत्त सहित लाहान नगरपालिका, धुलिखेल नगरपालिका, वालिङ्ग नगरपालिका र लमही नगरपालिकामा सञ्चालमा छ ।