भीमदत्त नगरपालिका १५ नम्बर वडा कार्यालयको भवन नगर प्रमुख सुरेन्द्र बिष्टद्वारा शिलालेख अनावरण गरि नव निर्मित भवनको उद्द्घाटन गर्नु भएको छ। भीमदत्त नगरपालिकाले एक करोड ६७ लाखमा उक्त भवन बनाएको हो । वडा कार्यालय भवनसंगै नव निर्मित आधारभूत स्वास्थ्य केन्द्रको भवन पनि उद्घाटन गरिएको छ ।
भीमदत्तका सबै १९ ओटै वडाका वडा कार्यालय भवन बनाउने लक्ष्य अनुसार वडा कार्यालय भवन निर्माण गरिएको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले शनिबार लोकतन्त्र दिवसको अवसर पारी भवनको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
उद्द्घाटन कार्यक्रममा नगर प्रमुख बिष्टले भने “वडा वासीलाई यो नव निर्मित वडा कार्यालयबाट सहज रुपमा सेवा सुविधा प्रवाह गर्न सहज हुने विश्वास लिएका छौ, सिहदरबारको अधिकार वडा कार्यालय मार्फत गाउँसम्म पुगेको उल्लेख गर्दै उनले नव निर्मित भवनबाट सेवा प्रवाह व्यवस्थित हुने बताए।”
कार्यक्रममा उप प्रमुख सुशिला चन्द सिंहले वडा कार्यालय भवन निर्माण कार्य नगर वासिन्दाका लागि खुसीको क्षण भएको बताइन् ।
कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरुले स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले विकास निर्माणमा लिएको गतिलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा भीमदत्त नगरपालिका १२ का अध्यक्ष कृष्ण सिह देउपा, ८ का अध्यक्ष ध्वज बहादुर बहादुर विष्टले नगरको विकासका लागि सबै जनप्रतिनिधि एक भएर लागेको बताए ।
वडा अध्यक्ष भीम बहादुर शाहुको अध्यक्षतामा गरिएको कार्यक्रममा भीनपा ११ का अध्यक्ष प्रेम प्रसाद जैसी, १४ का अध्यक्ष उत्तम बहादुर विष्ट, ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, सुदूरपश्चिम विश्वविद्यालय परिक्षा नियन्त्रक देव सिंह नाथ, वडा सदस्यहरु दामोदर भट्ट, लक्ष्मी दमाई, नन्दराम भाट, पूर्व वडा अध्यक्ष किसन सिह घडेरी, एमाले पुर्व वडा कमिटी अध्यक्ष बिश्राम चन्द, भीमदत्त नगर कृषक समन्वय समितिका संयोजक कृष्णदत्त भट्ट, नेपाली काँग्रेसका युवा नेता खेमराज ऐरीले, सहकारीकर्मी प्रेम सिह भाट, युवा संघका केन्द्रीय सदस्य दिपक चन्द, नेपाल शिक्षक संघका सुदूरपश्चिम प्रदेशह संयोजक बिर्ख बहादुर मल्ल लगायतका सहभागी भए ।
वडा सदस्य दामोदर भट्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्राविधिक पवन लेखकले गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष शाहुले स्थानीय तह निर्वाचनपछि वडामा गरिएको विकास निर्माण सहितको प्रगतिको जानकारी गराए ।