महेन्द्रनगर । नगर विकास कोषले भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ठ नगरपालिका घोषणा गरी एक लाख नगद पुरस्कार प्रदान गरेको छ । नगर विकास कोषको ३३ औं वार्षिकोत्सव अवसरमा आइतबार काठमाडौंमा पुरस्कार प्रदान गरिएको छ ।
भीमदत्त नगरपालिकालाई विकास आयोजना कार्यान्वयन र व्यवस्थापनमा उत्कृष्ठ नगरपालिका छनौट गरी पुरस्कार दिइएको छ । वार्षिकोत्सव समारोहमा सहरी विकास मन्त्री प्रभु शाहले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टलाई पुरस्कार सहित प्रशंसा पत्र प्रदान गर्नु भयो । कार्यक्रममा भीमदत्तका उप मेयर सुशिला चन्द सिह र नगर प्रवक्ता हिमाल बहादुर चन्द लगायतका सहभागी भएका छन् ।
पुरस्कार ग्रहणपछि भीमदत्तका मेयर विष्टले नगर विकास कोष, नगर वासिन्दा सहितको सबैको साथ र सहयोगबाट पुरस्कार पाउन सफल भएको बताउनु भयो । ‘यसमा सबैको साथ र सहयोग छ, विकास र समृद्ध नगर बनाउन चाहन्छ, त्यसको फल स्वरुप पुरस्कारसम्म पाएका छौ’ नगर प्रमुख विष्टले भन्नु भयो ।
नगर विकास कोषले साभेदारी गरिएका योजनाका आधारमा बर्सेनी उत्कृष्ठ नगपालिका छनौट गरी पुरस्कार प्रदान गर्दै आएको छ । यस अघि गत वर्ष कैलालीको धनगढी उप महानगरपालिकालाई पुरस्कार प्रदान गरिएको थियो ।
भीमदत्तमा कोषको साझेदारीमा आधुनिक वसपार्क निर्माण गरिएको छ । भीमदत्त नगरपालिकामा अहिलेसम्मकै ठूलो लगानीको तिलाचौर खानेपानी योजनामा पनि कोषसित साझेदारी गरिएको छ । तिलाचौर खानेपानी योजना ३२ करोडको छ ।
भाँसीस्थित आदर्श खानेपानी योजनामा पनि कोषसित साझेदारीका लागि सम्झौता गरिएको छ । सब्जीमण्डीमा कञ्चन निर्माणका लागि कोषसित साझेदारी प्रक्रिया अघि बढेको छ ।
भीमदत्त नगरपालिका कोषको पुरानो साझेदार निकाय हो । स्थानीय तह निर्वाचन अघि कोषको साझेदारीमा नगरपालिकाको भवन र बजारका केही पसल निर्माण गरिएका थिए । स्थानीय तह निर्वाचनपछि भीमदत्तका मेयर विष्टले नगरको विकासका लागि साझेदारी र सहकार्यको नीति अघि सार्नु भएको थियो ।
नगर विकास कोषले यस वर्ष ऋण लगानीमा पूर्वाधार, समृद्ध नेपालको आधार भन्ने नारा सहित वार्षिकोत्सव मनाएको छ ।
मयेर विष्टले दिए धन्यवाद सहित आभार
यसैबीच भीमदत्त नगरपालिकाका मेयर विष्टले उत्कृष्ठ नगरपालिका बनाउन सहयोग गर्ने सबैमा धन्यवाद सहित आभार व्यक्त गर्नु भएको छ ।
‘भीमदत्त नगरपालिकालाई बिकास आयोजना कार्यान्वयन र व्यवस्थापन कार्यमा सुझाव, सल्लाह दिनु हुने सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, नगरबासीज्यू, निर्माण व्यवसायी, उद्योगी, पत्रकार, शिक्षाप्रेमी, बुद्धिजीवि लगायत सम्पूर्णलाई हार्दिक धन्यवादका साथै आगामी दिनमा समेत सुझाव, सल्लाहका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु’ मेयर विष्टले भन्नु भयो ।