भीमदत्त १३ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ को नवनिर्मित वडा कार्यालय भवन उद्धघाटन गरिएको छ । आईतबार नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित कार्यालय भवनको उद्धघाटन गर्नु भएको हो ।
भवनको उद्धघाटन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले वडाको सेवालाई प्रभावकारी बनाउन भवन निर्माण गरिएको बताउनु भयो । उहाँले वडा निर्माणले वडाको सेवा प्रवाह सहज हुने अपेक्षा व्यक्त गर्नुभयो ।
उहाँले नगरपालिका सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गरिएको बताउनु हुदैँ ‘स्थानीय सरकारको नेतृत्वपछि हामीले पहिलो कार्यपालिका बैठकबाट वडास्तरमा जनतालाई सेवा दिने निर्णय गरेका थियौँ ।, सुरुवाती चरणमा बहालका घरमा कार्यालय सञ्चालन गरिए पनि अहिले आफ्नै भवन निर्माण गरेका छौ ।’ उहाँले भन्नुभयो ‘ हिजो कुनै कार्यक्रम गर्दा शनिबार र विद्यालय कुर्नु पथ्र्यो, अहिले बहु–उपयोगी भवनको रुपमा वडा कार्यालय निर्माण गरिएकोले यसलाई सामुदायिक भवनको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।’
त्यस्तै स्थानीय सरकारको नेतृत्वपछि वडा नम्बर १ मा जैविक मार्ग, बाह्य चक्रपथ, मणिदिप धामको विकास, त्रिशुल पार्क निर्माण लगायतका थुप्रै विकास निर्माण कार्य भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य दिदैँ वडा सदस्य कालुराम डगौराले नगर प्रमुख विष्टको नेतृत्वमा भीमदत्तले विकासको कोल्टो फेरेको बताउनु भयो । भीमदत्त समृद्धीको यात्रामा अघि बढेको उल्लेख गदैँ विकास निर्माण कार्यका लागि नगर प्रमुख विष्टलाई वडा समस्य डगौराले धन्यवाद समेत दिनुभयो ।
त्यस्तै वडाध्यक्ष आसेफ कुवँरले वडावासीलाई सहज रुपमा सेवा प्रवाह गर्न वडा कार्यालय निर्माण गरिएको बताउनु भयो । कार्यक्रम जग्गादाता, जेष्ठ नागरिक र प्रशासकीय अधिकृत हरि सिंह धामी लगायतलाई सम्मान पनि गरिएको थियो ।
भीमदत्तमा १६ वडा कार्यालय भवन निर्माण भईसकेका भने तीन वडा कार्यालय निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ ।