भीमदत्त ७ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । शुक्रबार नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिकाको ४४ औँ वर्ष प्रवेश तथा तेस्रो स्थापना दिएको अवसरमा वडा कार्यालय भवनको शिलान्यास गर्नुभएको हो ।
यो सँगै भीमदत्त नगरपालिकाका सबै वडाको कार्यालय भवन निर्माण अघि बढेको छ । हालसम्म नौ वटा वडा कार्यालय भवन निर्माण भई सञ्चालनमा आईसकेका छन् भने पाँच वटा कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेका र अन्यको पनि निर्माण कार्य दुत्र गतिमा भईरहेको नगरपालिकाले जनाएको छ ।
वडा कार्यालय भवनको शिलान्यास गदैँ नगर प्रमुख विष्टले नगरपालिकाको सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गर्ने योजना सफल भएको बताउनु भयो । ‘स्थानीय तहको सरकार आईसकेपछि सुरुवातमा भाडाको घरबाट वडा कार्यालयको सेवा सुरु गरेका थियौँ ।’ उहाँले भन्नुभयो । ‘बहुउपयोगसहित सबै वडामा आफ्नै पुर्वाधार निर्माण बढाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएका छौँ, सबै वडाको कार्यालय भवव निर्माण अघि बढेको छ, कतिपय सम्पन्न समेत भएर सेवा प्रवाह सुरु गरिसकेका छन् ।’
साथै उहाँले कार्यालय भवन निर्माण भएपछि सेवा प्रवाहमा नगरवासिलाई सहज हुने बताउनु भयो । नगरपालिकाले वडा कार्यालय भवनलाई सामुदायिक भवनको रुपमा प्रयोग गर्न सकिने गरि निर्माण गरिरहेको छ । त्यस्तै वडा नम्बर नौ का वडाध्यक्ष राम नाथले जग्गा प्राप्तीको समस्याका कारण भवन निर्माणमा केही ढिलाईएको बताउनु भयो ।
उहाँले तिव्र गतिमा कार्यालय भवन निर्माण गरि चाडैँ आफ्नै भवनबाट सेवा सञ्चालन गरिने बताउनु भयो । साथै वडाको विकासका लागि कार्यालय र नगरपालिकाले नौ नम्बर वडालाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत उहाँले बताउनु भयो । वडा कार्यालय भवन निर्माणका लागि वाईआर कष्ट्रसनसँग एक करोड ७० लाख ८६ हजारमा ठेक्का सम्झौता भएको छ ।