महेन्द्रनगर, ९ पुस
नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल आउने पहिलो पर्यटकलाई विशेष सम्मान गरी महेन्द्रनगर बजार परिक्रमा गराइने भएको छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा बजार परिक्रममा गराउने भएको हो ।
प्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्य सहित जिल्लाका सबै सरकारी कार्यालयका प्रमुखको भीमदत्त नगरपालिकामा बसेको बैठकबाट पहिलो आउने पर्यटकलाई विशेष सम्मान गर्ने निर्णय गरिएको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखहरुको बैठकबाट पश्चिमी सीमा नाका भएर आउने पहिलो पर्यटकलाई सम्मान गरी बग्गीमा बजार परिक्रमा गराउने निर्णय गरिएको जानकारी दिनु भयो ।
‘नेपाल भ्रमण वर्ष देशको पर्यटन प्रवद्र्धन मात्रै नभएर देशको मान सम्मानसित जोडिएको छ, यसलाई सफल पार्न उद्घाटनदेखि नै सबैले एक भएर लाग्नु पर्छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘भीमदत्तमा प्रमुख जिल्ला अधिकारीज्यू सहितको कार्यालय बैठकले उद्घाटनको दिन नाका पहिलो आउने पर्यटकलाई सम्मान गर्ने, बजार परिक्रमा गराउने निर्णय गरिएको छ, त्यो दिन पर्यटकको भोजना तथा आवाशको समेत व्यवस्था गरिएको छ ।’
नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको बैठकले सरसफाई, सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, पर्यटकीय स्थानमा साँकेतिक चिन्ह राख्ने, प्रचारप्रसारका सामग्री वितरण गर्ने, खाली सरकारी जग्गामा वृक्षारोपण गर्ने, होटल सफा सुग्घर र चिटिक्क बनाउने लगायतका कार्यहर गर्ने निर्णय गरिएको छ । भीमदत्त नगरपाकिाको ग्रिन सिटी, क्लिन सिटीको नारा अनुसार खाली जग्गामा वृक्षारोपण गर्न लागिएको हो ।
भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्षका रुपमा मनाएको छ । पर्यटकीय स्थानसम्म पहुँच मार्ग निर्माण, होर्डिङ्ग बोर्ड, रौटेलामा त्रिशुल स्थापना, गड्डाचौकीमा ७७ फिटको नेपाली राष्ट्रिय झण्डा लगायतका कार्य गरिएका छन् । यसैगरी महेन्द्रनर गड्डाचौकी सडक खण्ड चौडा बनाउन सडक डिभिजन कार्यालयसित पहल गरिएको छ । अहिले सडक चौडा गर्ने कार्य भई रहेको छ ।
नगर क्षेत्रका पर्यटकीय स्थानमा सरसफाईका लागि क्लिन काष्ठमण्डका अभियन्ता केपी खनालको नेतृत्वमा सरसफाई सम्बन्धि सचेतना मुलक अभियान सञ्चालन गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सरसफाई अभियान सञ्चालन गरिएको हो । महेन्द्रगर बजारलाई सफा र चिटिक्क बनाउन ठेला व्यवस्थापन गरिएको छ । बजार क्षेत्रमा सरसफाईका लागि अभियान सञ्चालन गरिनेछ ।
भीमदत्तमा भ्रमण वर्षका लागि सचिवालय व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । चुरे फेदका सबै धार्मिक पर्यटकीय स्थल जोडिने गरी धार्मिक जैविक पर्यटकीय मार्ग र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएको छ । भ्रमण वर्षलाई मध्यनजर गरी पुस १५ गते जैविक धार्मिक पर्यटकीय मार्गमा हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । ‘पर्यटकीय स्थानको प्रचारप्रासर, पूर्वाधार निर्माण, अध्ययन अनुसन्धान लगायतका कार्य गरिएका छन्’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘सबै क्षेत्रसित सहकार्य र साझेदारी गरी भ्रमण वर्ष मनाउन गई रहेका छौ, यसलाई सबैले भव्य बनाऔं ।’
यसैबीच भ्रमण वर्ष सफल भीमदत्त नगरपालिकामा सरोकारवालासित छलफल गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनारको उपस्थितिमा गरिएको छलफल कार्यक्रममा सहभागीहरुले भ्रमण वर्ष सफल बनाउन सबैले सहयोगग गर्ने प्रतिवद्धता जनाएका छन् ।