महेन्द्रनगर, ७ भदौ
भीमदत्त नगरपालिकाले महाकाली अञ्चल अस्पताललाई मर्करी चेम्बर उपलब्ध गराएको छ । अस्पतालको शवगृहमा शव व्यवस्थापनका लागि गत वर्ष दुई ओटा मर्करी चेम्बर सहयोग गरिएको छ । मर्करी चेम्बरका लागि नगरपालिका कार्यालय र भीनपा वडा नं. १८ बाट ५÷५ लाख बजेट विनियोजन गरिएको थियो ।
नगरपालिकाको सहयोगपछि अस्पतालको शवगृहमा दुई ओटै मर्करी चेम्बर जडान गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले अस्पताललाइ शव व्यवस्थापनका लागि मर्करी चेम्बर सहयोग गरिएको बताउनु भयो । ‘लाशघरमा शव गन्हाउने अवस्था थियो, त्यसलाई व्यवस्थापन गर्न मर्करी चेम्बर सहयोग गरिएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘यसबाट शव गन्हाउने, सड्ने समस्या हुँदैन ।’
स्थानीय तह निर्वाचनपछि नगर प्रमुख विष्टले अस्पताल सुधारका लागि गुरु योजना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो । ‘गुरु योजना बनाएर अस्पताललाई हस्तान्तरण गरि सकेका छौ, अरु कुरामा पनि अस्पतालसित सहकार्य र समन्वय गरी गई रहेका छौ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘यो अस्पताल सुधारका लागि स्थानीय सरकारबाट गर्न सकिने सबै सहयोग गर्छौ ।’