महेन्द्रनगर, २५ चैत
महाकाली अस्पतालका स्वास्थ्यकर्मीले पीपिई अर्थात पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ नगाएर कोरोना भाइरस(कोभिड १९) संक्रमणको आशंका गरिएका व्यक्तिको स्वास्थ्य जाँच गर्न सक्ने भएका छन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायले भीमदत्त नगरपालिका र राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा अस्पतालमा पीपीई नगाई स्वास्थ्यमर्कीले कोरोना संक्रमण जाँचका लागि कोरोना जाँच कक्ष ( कोरोना टेस्टिङ्ग बुथ ) बनाएको हो ।
विश्वविद्यालयका इन्जियिर र विद्यार्थी तथा आविस्कार केन्द्रका इन्जियिनरले एक दिन लगाएर तयार गरेको बुथ केन्द्र मंगलबार महाकाली अस्पतालाई बुथ हस्तान्तरण गरेका छन् । महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठलाई बुथ हस्तान्तरण गरिएको छ ।
‘यो अस्पतालका लागि ठूलो उपलब्धि हो, कोरोना महामारीको बेलामा पीपीईको अभाव छ, यस्तो अवस्थामा बुथ निर्माण हुनु एकदमै राम्रो हो’ अस्पतालका अध्यक्ष जोशीले भन्नु भयो । कोरोना महामारीमा पीपीई अभाव हुने चिन्तालाई बुथले हटाई दिएको अध्यक्ष जोशीले बताउनु भयो । ‘यो टेस्टिङ्ग बुथलाई सुरक्षा कवचका रुपमा लिएका छौ; अधयक्ष जोशी भन्नु भयो ।
विश्वभर कोरोना भाइरस संक्रमणको महामारी फैलिएपछि कोरियामा पीपीईको विकल्पमा बुथ निर्माण गरिएका छन् । नेपालमा राष्ट्रिय अनुसन्धान केन्द्रले कोरियाली प्रविधिमा सुधार गरी पीपीईको विकल्पमा निर्माण गरिएको बु्थलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालले अस्पतालबाट सुरु गरेको हो ।
‘कोरोना महामारी फैलिएपछि कोरियामा यस्तो प्रकारको बुथ निर्माण गरिएका छन्, त्यहाँ टेलिफोन बुथ समेत जाँचका लागि प्रयोग गरिएका छन्’ सुदूरपश्चिञ्चाल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका विभागीय प्रमुख इन्जिनियरिङ्ग तोरण प्रसाद भट्टले भन्नु भयो,‘ नेपालमा त्यसैलाई सुधार गरी राष्ट्रिय आविस्कार केन्द्रले राम्रो गरी बनाई रहेको छ, केन्द्रसित सहकार्य गरी अस्पतालमा बुथ निर्माण गरिएको छ ।’
इन्जिनियरिङ्ग भट्टले विश्वविद्यालयका उपकुलपति डा. अमरराज जोशीसत समन्वय गरी सामाजिक उत्तरदायित्वका रुपमा बुथ निर्माण गरिएको बताउनु भयो । बाहिरबाट हावा छिर्न नसक्ने गरी बनाइएको बुथभित्र बसेर अस्पतालका चिकित्सक वा अन्य स्वास्थ्यकर्मी पीपीई नलगाईकन संक्रमणको आशंका गरिएका व्यक्तिको स्वास्थ्य जाँच गर्न सक्ने छन् । एक पटक एक जनाले स्वास्थ्यकर्मी र संक्रमणको आशंका गरिएको व्यक्तिको जाँच गर्न मिल्ने गरी बुथ निर्माण गरिएको छ । ‘यसमा डा. भित्र हुन्छन्, आशंका गरिएका व्यक्ति बाहिर हुन्छन्’ इन्जिनियर भट्टले भन्नु भयो ।
महाकाली अस्पतालका चिकित्सक सहित स्वास्यकर्मीका लागि हालसम्म ४० ओटा पीपीई आएका छन् । बुथ निर्माण गरिएपछि अस्पतालमा कोरोना संक्रमण जाँचका लागि सहज भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.श्रेष्ठले बताउनु भयो । ‘यो बुथबाट शंस्कास्पद व्यक्तिको स्वाव संकलन लगायतका जाँचमा सहज नै हुन्छ’ निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.श्रेष्ठले भन्नु भयो, ‘अब पीपीई छैन भनेर जाँच रोक्नु पर्ने हुँदैन ।’
डा. श्रेष्ठले अस्पतालमा अहिलेसम्म पीपीईको अभाव नभए पनि कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दा समस्या आउने सक्ने बताउनु भयो । महाकाली अस्पतालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमणको आशंकामा ४१ जनाको स्वाब जाँच गरिएको छ । अस्पतालको आइसोलेसनमा राखिएका ९ जना स्वाब परीक्षणपछि घर फर्किएका छन् । घर फर्किएका सबैको नतिजा नेगेटिभ आएको थियो ।
अस्पतालमा हरेक दिन दिउँसो २ः३० देखि एक घण्टासम्म अस्पतालमा संक्रमणको आशंका गरिएका व्यक्तिको जाँच हुने गरेको छ । ‘अहिलेसम्म दैनिक रुपमा जाँच हुँदै आएको छ, पीपीई लगाएर जाँच गर्दै आएका छौ, त्यसमा भन्दा यो बुथमा जाँच गर्दा स्वास्थ्यमर्कीलाई समय समेत बचत हुन्छ’ डा. श्रेष्ठ भन्नु भयो,‘ पीपीई लगाउने समय बचत घट्छ त ।’
विश्वविद्यालयले महाकाली अस्पतालबाट सुरु गरेको कोरोना टेस्टिङ्ग बुथलाई अन्य स्थानीय तहमा समेत विस्तार गर्ने लक्ष्य लिएको छ । अस्पतालको बुथ निर्माणमा विश्वविद्यालयका इन्जिनियरि भट्ट सहित इन्जिनियर कमल लेखक, राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर भुबनेश्वी बोहरा, र विश्वविद्यालयका विद्यार्थीहरु लोचन कार्की र विरेन्द्र बडाल लगायतले सहयोग गर्न भएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र भीमदत्त नगरपालिकाबीच आपशी सहकार्यका लागि दुई वर्ष अघि सम्झौता गरिएको थियो ।