महेन्द्रनगर, ९ बैशाख
भीमदत्त नगरपालिकाको पहलमा कोरोना भाइरस (कोभिड १९ ) संक्रमण मध्यनजर गरी महाकाली अस्पतालका लागि संकलन गरिएका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
भीमदत्त नगरपालिकामा अनौपचारिक कार्यक्रम गरी अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरलाई पीपीई र मास्क हस्तान्तरण गरिएका छन् । इन्टरनेशनल पब्लिक पब्लिक स्कुलले अस्पतालका लागि ३५ थान पीपीई र एक सय थान मास्क भीमदत्त नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।
भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिहले अस्पतालका अध्यक्ष जोशीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भयो । नगर उप प्रमुख चन्दको कार्यकक्षमा जनप्रतिनिधि र विद्यालयका सञ्चालक सहितको उपस्थितिमा सामागी हस्तान्तरण गरिएका हुन् ।
अध्यक्ष जोशीलाई हस्तान्तरण गर्न अघि इन्टरनेशन स्कुलका प्रबन्ध निर्देशक महाशर्मा न्यौपानेले नगर उप प्रमुख चन्दलाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो । सामाग्री हस्तान्तरणपछि नगर उप प्रमुख चन्दले कोरोना महामारी विश्व मानव समुदायका लागि चुनौतीका रुपमा देखा परेको उल्लेख गर्दैै सबै क्षेत्र, व्यक्तिले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नु पर्ने बताउनु भयो ।
‘यो महासंकटको घडी हो, मानव जातीको अस्तित्व नै संकटमा छ, स्वास्थ्य क्षेत्र अहिले यस विरुद्ध हिम्मत नहारी लागि परेको छ’ नगर उप प्रमुख चन्दले भन्नु भयो,‘यो अवस्थामा इन्टरनेशनलाई सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।’
स्वास्थ्य सामाग्री हस्तान्तरणमा नगर उप प्रमुख चन्द, भीनपा १८ का अध्यक्ष राजेन्द्र पाण्डेय, वडा नं. ३ का अध्यक्ष राम बहादुर जप्रेल, इन्टरनेशनल स्कुलका प्रबन्धक शर्मा लगायतका सहभागी हुनु भएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले केही दिन अघि कोरोना संक्रमणलाई मध्यनजर गरी निजी शिक्षण संस्थाका संगठन प्याब्सन र एन प्याब्सनसंग अस्पतालका लागि स्वास्थ्य सामाग्री लगायत सहयोग जुटाउन छलफल गर्नु भएको थियो । निजी शिक्षण संस्थाहरुले छलफलमा अस्पताल र नगरपालिकालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।
छलफलमा गरिएको प्रतिवद्धता अनुसार इन्टरनेशल पब्लिक स्कुलले अस्पतालका लागि नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । भीमदत्त नगरपालिकाले कोरोना संक्रमण रोकथाम सहित अस्पताल सुधारका लागि सहयोग गर्दैै आएको छ । स्थानीय तह निर्वाचनपछि अस्पतालको गुरु योजना बनाएर हस्तान्तरण गरेको नगरपालिकाले पछिल्लो समय कोरोना रोकथामका लागि आइसोलेस निर्माण, कोरोना जाँच टेस्ट कक्ष र शौचालय निर्माण लगायतका कार्य सहयोग गरेको छ ।
अस्पतालको शव गृहमा शव व्यवस्थापनका लागि मर्करी चेम्बर सहयोग गरिएको छ भने अक्सिजन प्लान्ट खरिदका लागि आर्थिक सहयोग गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले अस्पतालको सुधारका लागि नगरपालिका सधैं सहयोग गर्ने बताउनु भयो ।
‘भीमदत्त नगरपालिका महाकाली अस्पताल सुधारका लागि सधैं प्रतिवद्ध छ, स्थानीय सरकारको तहबाट गर्न सकिने सहयोग गरिरहेका छौ, यसलाई निरन्तरता दिन्छौ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘अस्पताल सुधारका लागि व्यवस्थापन समिति, प्रशासन लगायत सरोकारवालासित पनि निरन्तर छलफल गर्दै आएका छौ ।’