महेन्द्रनगर, १४ फागुन
भीमदत्त नगरपालिका –१७ मा सञ्चालन गरिएको महिला स्वास्थ्य शिविरबाट दुई सय बढी जनाले सेवा पाएका छन् । भीमदत्त नगरपालिका १७ नम्बर वडा कार्यालयले आयोजना गरेको शिविरमा सहभागीहरुको स्वास्थ्य जाँच सहित परामर्श सेवा दिइएको छ ।
शिविरमा ६४ जनालाई प्रयोगशाला, २४ जनालाई सुरक्षित मातृत्व तथा परिवार नियोजन सेवा सहित दुई सय १० जनालाई सेवा प्रदान गरिएको छ । वडा अध्यक्ष हिमाल बहादुर चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी प्रमुख अतिथि रहनु भएको थियो ।
शिविर उद्घाटन कार्यक्रममा महाकाली अस्पतालका चिकिसत्कहरु डा. किरण भट्ट, डा.गोबिन्द रोकाया, भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाका प्रमुख नरेन्द्रराज जोशी लगायतका जनप्रतिनिधि, स्थानीय, कर्मचारी सहभागी भएका छन् ।
शिविरमा महाकाली अस्पतालका चिकित्सकद्वय डा. भट्ट र रोकायाले स्वास्थ्य जाँच र परामर्श दिनु भएको छ । शिविरमा स्वास्थ्य जाँच गरिएका स्थानीयलाई र्औषधि समेत वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष जोशीले शिविरबाट स्थानीयलाई घरदैलो स्वास्थ्य सेवा पुगेकोमा वडा कार्यालयलाई धन्यवाद दिदै. कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।
वडा अध्यक्ष चन्दले संविधानमा स्वास्थ्यलाई मौलिक अधिकारका रुपमा राखिएकाले भीमदत्त नगरपालिका वासिन्दालाई घरदैलोमा स्वास्थ्य सेवा पुगाउन सक्रिय रुपमा लागेको बताउनु भयो ।