महेन्द्रनगर, २३ मंसिर
भीमदत्त नगरपालिका वडा नं. ४ ले महेन्द्रनगर बजार क्षेत्रमा सरसफाई अभियान सञ्चालन गर्ने भएको छ । भीनपा ४ को वडा कार्यालयमा सोमबार बसेको सरोकारवाला सहितको बैठकले नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा बजार क्षेत्रमा सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकमा बजार क्षेत्रको फोहरमैला व्यवस्थापन, सरसफाई अभियान, नेपाल भ्रमण वर्ष सफल बनाउने लगायतका विभिन्न विषयमा छलफल गरिएको छ । बैठकमा वडा अध्यक्ष लक्ष्मीदत्त बोहरा सहित क्लिन काष्ठमण्डपका अभियन्ता केपी खनाल, भीमदत्त नगरपालिका सरसफाई शाखाका पुष्पराज भट्ट, पूर्ण बहादुर कुँबर लगायतका सहभागी हुने भएको छ ।
बैठकले बजार क्षेत्रलाई सफा र स्वच्छ बनाउन सहयोग गर्ने बासिन्दालाई पुरस्कार दिने निर्णय समेत गरेको छ ।
‘आफ्नो घर पसल अगाडि स्वस्फूर्त सफा र चिटिक्क बनाउन बजार वासिन्दालाई हौसलाका लागि पुरस्कार दिने निर्णय समेत गरिएको छ’ वडा अध्यक्ष बोहराले भन्नु भयो । वडा कार्यालयको अगुवाई पुस पहिलो साता बजार क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरिने छ ।
भीनपा २ मा पनि सरसफाई सम्बन्धी छलफल
यसैगरी भीनपा वडा नं. २ मा पनि सरसफाई सचेतना कार्यक्रम सञ्चालनका लागि छलफल गरिएको छ । वडा कार्यालयका भएको छलफलमा अर्को हप्ता वडामा सरसफाई कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । कार्य वाहक वडा अध्यक्ष रविन्द्र प्रसाद तिरुवाको अध्यक्षतामा बसेको बैठकमा सदस्य सहित वडा सचिव नर बहादुर शाह लगायतका सहभागी हुनु भएको छ ।
भीनपा २ का टोल विकास संस्था, क्लब, महिला स्वास्थ्य स्वयम् सेविका सबैको सहभागितामा सरसफाई कार्यक्रम सञ्चालन गरिने छ । वडामा ३० टोल विकास संस्था छन् ।