महेन्द्रनगर, १३ भदौ
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवस ‘सरकारको प्रतिवद्धता, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ शुक्रबारदेखि मनाउन सुरु गरिएको छ । भीमदत्त नगरपालिकाको अगुवाईमा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले संयुक्त रुपमा दिवस मनाउन थालेका
छन् ।
एक सातासम्म मनाइने दिवस शुक्रबार वसपार्कमा कार्यक्रम गरी उद्घाटन गरिएको छ । भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख सुशिला चन्द सिहको प्रमुख आतिथ्यमा कार्यक्रम गरी उद्घाटन गरिएको छ ।
कार्यक्रममा कार्य वाहक नगर प्रमुख चन्दले पश्चिमी सीमा नाका गड्डाचौकीबाट मानव बेचबिखन तथा ओसारपसारको अत्यधिक जोखिम भएकाले सीमा नाकालाई मध्यनजर गरी सरकारी तथा गैर सरकारी निकायसित सहकार्य गरी दिवस मनाउन सुरु गरिएको बताउनु भयो ।
‘पश्चिमी नाकाबाट बेचबिखन तथा ओसारपासको जोखिम छ, त्यस कारण नगरपालिकाले गड्डाचौकी नाकालाई मध्यनजर गरी संयुक्त रुपमा कार्यक्रम बनाइएको छ, त्यस अनुसार बेचबखिन विरुद्ध सचेतना कार्यक्रम, नाका निगरानी लगायतका कार्यक्रम राखिएका छन्’ कार्य वाहक नगर प्रमुख चन्दले भन्नु भयो, ‘यसमा सबैको साथ र सहयोगको आश गरिएको छ ।’
अशिक्षा, जनचेतना कमी र गरीबिका कारण मानव बेचबिखन हुने गरेको उल्लेख गर्दै कार्य वाहक नगर प्रमुख चन्दले महिलाहरुको आर्थिक अवस्था सुधार गर्नु पर्नेमा जोड दिनु भयो । केही दिन अघि भारतीय राजधानी नयाँ दिल्लीमा गरिएको कार्यक्रममा समेत आफूले बेचबखिन र ओसारपसार विरुद्ध भारतका सरकारी तथा गैर सरकारी अधिकारीहरुलाई जानकारी गराएर बेचबिखन अन्त्यका लागि सहयोग गर्न आग्रह गरिएको कार्य वाहक नगर प्रमुख चन्दले बताउनु भयो ।
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस सफल पार्न सरकारी तथा गैर सरकारी क्षेत्र सबैको भूमिका महत्वपूर्ण हुने भएकाले सहकार्य र समन्वय गरी जानु पर्नेमा कार्य वाहक नगर प्रमुख चन्दले जोड दिनु भयो । ‘यो दिवसले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना जगाउने आश लिएका छौ, यो कार्यक्रममा सबै पक्षको सहयोग, साथ र समर्थन आवश्यक छ’ कार्य वाहक नगर प्रमुख चन्दले भन्नु भयो,‘नगरपालिका सदा सहकार्य र समन्वय गरी जान्छ ।’
मानव बेचबिखनका रोकथामका लागि यातायात व्यवसायी र होटल व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने कार्य वाहक नगर प्रमुख चन्दको भनाई थियो । ‘गाडी वा होटलमा बस्दा शंकास्पद व्यवहार देखिने वित्तिक्कै जानकारी गराउँदा बेचिनबाट रोकिन सक्छ’ कार्य वाहक नगर प्रमुख चन्दले भन्नु भयो ।
कार्यक्रममा वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक मोहनजङ्ग बुडथापाले सरकारको नीति अनुसार प्रहरी मानव बेचबिखन तथा ओसारपासर रोकथाममा लागेको बताउनु भयो । ‘मानव बेचबिखन विरुद्ध प्रहरीले सचेतना मुलक कार्यक्रम पनि चलाएको छ, नाका संघसंस्थाहरु समन्वय र सहकार्य गरी रोकथामका काम पनि गर्र्दै आएको छ’ प्रहरी निरीक्षक बुडथापाले भन्नु भयो ।
प्रहरी निरीक्षक थापाले मानव बेचबिखनका सूचना पाए प्रहरीलाई जानकारी गराई सहयोग गर्न सबैमा आग्रह गर्नु भयो ।
अधिकारकर्मी प्रभुनिधि पन्तले मानब बेचबिखन विरुद्धको दिवस सम्बन्धी जानकारी गराउनु भयो । अधिकारकर्मी पन्तले सीमा निगरानी, सचेतना मुलुक कार्यक्रम सञ्चालन र आर्थिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिनु पर्नेमा जोड दिनु भयो ।
सरकारले २०६३ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस घोषणा गरेको थियो । वसपार्कबाट सुरु गरिएको दिवसमा जनचेतना मुलुक कार्यक्रम, देउडा प्रतियोगिता, सरारकोवाला निकायसंग छलफल लगायतका कार्यक्रम राखिएका छन् ।
दिवसको अन्तिम दिन भदौ २० गते पश्चिमी सीमा नाका गड्डाचौकीमा कार्यक्रम गरी समापन गरिने भीमदत्त नगरपालिकाका कलावति कुँबरले जानकारी दिनु भयो । दिवस उद्घाटनपछि कार्यक्रमका प्रमुख अतिथि कार्य वाहक नगर प्रमुख चन्द सहित सहभागीहरुले नेपाल भारतमैत्री सेवा सवारी साधनका यात्रुलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सहयोग गर्न आग्रह गरेका छन् ।
उद्घाटन कार्यक्रममा भीमदत्त नगरपालिका नगर कार्यपालिका सदस्य सरस्वती रावल, कमला देबकोटा, महाकाली सेती यातायात समितिका अध्यक्ष डम्मरदत्त पन्त, वडा प्रहरी कार्यालयका इन्चार्ज मोहनजङ्ग बुडथापा, महाकाली टेम्पो समितिका अध्यक्ष जनक बहादुर चन्द, अधिकारकर्मी प्रभुनिधि पन्त, आफन्त नेपालका सुशिला मरहट्टा, थ्रि एन्जल्सका बेलु नेपाली लगायतका सहभागी भएका छन् । अधिकारकर्मी भगतवती थापाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।