महेन्द्रनगर, २२ भदौ
भीमदत्त नगरपालिकाको आयोजनामा मेलमिलापकर्ताहरुका लागि आधारभूत तालिम सुरु भएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले तालिम उद्घाटन गर्नु भयो ।
सो अवसरमा नगर प्रमुख विष्टले तालिमबाट नगरपालिका क्षेत्रमा विवाद समाधानका लागि सहजता आउने विश्वास व्यक्त गर्नु भयो । ‘नयाँ संरचना अनुसार स्थानीय तह सरकारका रुपमा छन्, स्थानीय सरकारलाई न्यायिक समिति गठन गरी विवाद समाधान गर्ने अधिकार संविधानमा दिइएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘यो तालिमबाट स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने विवाद समाधानमा सजिलो हुन्छ ।’
नगर प्रमुख विष्टले भीमदत्त नगरपालिकाले विकास र समृद्धिका नारा सहित अघि बढेको उल्लेख गर्दै यसमा सबै नगरवासी, नागरिक समाज, बुद्धिजीवि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।
भीमदत्त नगरपालिकाका नगर उप प्रमुख तथा न्यायिक समितिका संयोजक सुशिला चन्द सिहको अध्यक्षतामा कार्यक्रम गरिएको छ । न्यायिक समितिका संयोजक चन्दले मेलमिलापकर्ताहरुलाई तालिमपछि वडा स्तरमा विवाद वडामा समाधान हुने विश्वास व्यक्त गर्नु भयो । ८ दिनसम्म चल्ने तालिममा भीमदत्त नगरपालिकाको वडा स्तरबाट छनौट गरिएका मेलमिलापकर्ताहरु सहभागी भएका छन् ।
उद्घाटन कार्यक्रममा पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश एवम् मेलमिलाप परिषद् विज्ञ समूहका संयोजक केशरीराज पण्डित, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापा, न्यायिक समितिका सदस्यहरु प्रशान्त भट्ट, सन्तोशी ऐर, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका क्षेत्रीय संयोजक अर्जुन कार्की, प्रशासकीय अधिकृत हरि सिंह धामी लगायतका सहभागी भएका छन् ।