महेन्द्रनगर १३ बैशाख । सूचना प्रविधि प्रयोग गरेर ओपन डाटा अभ्यास गर्ने सरकार, प्रविधिसँग जोडिएका व्यवसाय र वस्तुहरू उत्पादन गर्न प्रोत्साहन गर्ने अर्थव्यवस्था, सफा तथा वातावरणमैत्री र सजिलो तथा सुलभ यातायात व्यवस्था, नवीकरणीय ऊर्जा प्रयोग, प्रविधि साक्षर जनसंख्या, प्रविधियुक्त स्वास्थ्य सेवाको विकास स्मार्ट सिटीका प्रमुख विशेषता हुन् ।
त्यहि परिकल्पना सहित भीमदत्त नगरपालिकाको वर्तमान नेतृत्वले स्थानीय निर्वाचनमा भीमदत्तलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने एक प्रमुख एजेण्डा बनायो । जुन एजण्डाले मन्त्रीपरिषद् बैठकले चैत २५ गतेको निर्णयले सार्थकता पाएको छ । बजेट सुनिश्चितासहित भीमदत्तलाई नेपालका १२ वटा ‘स्मार्ट सिटी’ बनाउने योजनामा समावेश गरेको छ ।
स्थानीय जनप्रतिनिधिको पहल छनौटमा परेको यस योजनाका लागि सरकारले एक अर्व बजेट सुनिश्चत समेत गरिसकेको छ । मन्त्रिपरिषद् बैठकले तत्काल वातावरण मूल्यांकन सहित खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । वातावरण मूल्यांकनसहित खरिद प्रक्रिया अघि बढाउने गरी मन्त्रालयलाई निर्देशनसमेत आइसकेको सहरी विकास मन्त्रालयले जनाएको छ ।
‘शहरको अर्थतन्त्र र नागरिकको जीवनस्तरमा सुधार ल्याउने ‘स्मार्ट सिटी’ को लक्ष्य हो ।’ भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले ‘सोही योजना अनुरुप चाँडै काम अगाडी बढ्छ, आवश्यक पुर्वाधार निर्माणका लागि ठेक्का पक्रिया छिट्टै सुरु हुन्छ ।’ उनका अनुसार नगरपालिकाले जिल्लाको सदरमुकाम समेत रहेको महेन्द्रनगरलाई केन्द्रमा राखेर योजना बनाउने छ ।
स्मार्ट सिटीका लागि आवश्यक योजना छनौटको क्रम सुरु भईरहेको छ । बजेटको सुनिश्चता भईसकेकाले चालु आर्थिक वर्षबाट नै काम सुरु हुने उनको भनाई छ । स्मार्ट सिटी अन्र्तगत विभिन्न चरणमा प्राथमिकताका आधारमा काम गरिने छ । नगर प्रमुख विष्टका अनुसार स्मार्ट अन्र्तगत महेन्द्रनगरमा आधुनिक रङ्गशाला निर्माण, भीमदत्त पार्क, शहिद पार्क ईको पार्क निर्माणसँगै सौन्दर्ययिकरण् र खुला मञ्चलाई आधुनिक र व्यवस्थीत बनाईने छ ।
त्यस्तै आधुनिक प्रविधिसहितको नगर पुस्तकालय, डिजिटल साईन बोर्ड, ट्राफिक लाईट, हाई स्पीड ईन्टरनेट, विपद व्यवस्थापन तथा आपदकालिन सेवा सञ्चालन केन्द्र निर्माण गरिनेछ । भने सडक र ढल व्यवस्थापनका योजना सञ्चालन हुनेछन् । महेन्द्रनगर बसपार्कलाई आधुनिक र व्यवस्थीत बनाउने र भानु चोकको आकाशे पुल निर्माण गरिने नगर प्रमुख विष्टको भनाई छ । बजार क्षेत्रमा फुटपाथ व्यवस्थापनसँगै वृक्षारोपण गरिने छ ।
साथै बजारलाई प्रविधिमैत्री बनाउन व्यवसायीलाई प्रोत्साहन मैत्री कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ । त्यस्तै रेडक्रस–आँखा अस्पताल सडक, जिप्रकादेखि राजमार्ग जोड्ने सडक, एयर पोर्टदेखि ऐरीघाट जाने लगायतका सडक निर्माण गरिने छ । स्मार्ट सिटी रातारात बन्ने कुरा होईन, यसलाई बन्न समय लाग्छ नगर प्रमुख विष्टले भने हामीले सुरुवातसँगै निर्माण कार्यलाई अगाडी बढाउदैँ छौँ, नगरलाई स्मार्ट बनाउने हाम्रो योजना छ ।
सुदूरपश्चिममा भीमदत्त र अमरगढी नगरपालिका स्मार्ट सिटी बनाउन लागिएको छ भने त्यस बाहेक झापाको गौरीगन्ज, रौतहटको चन्द्रपुर र मौलापुर, काभ्रे उपत्यका, भक्तपुरको गुन्डु–बालकोट क्षेत्र, स्याङ्जाको वालिङ, रूपन्देहीको लुम्बिनी, दाङको तुलसीपुर, दैलेखको दुल्लु र धनकुटालाई स्मार्ट सिटी बनाउने निर्णय गरिएको छ ।
त्यस्तै भीमदत्त नगरपालिकाकी उप प्रमुख शुसिला चन्द सिंहले स्मार्ट शहरसँगै मानिसलाई पनि स्मार्ट बनाउनु पर्ने बताईन् । उनले स्मार्ट शहरमा सेवा प्रदायक संरचना र पुर्वाधार प्रविधिमैत्री हुने भएकाले सोही अनुरुप मानिसको जीवनशैलीमा परिर्वतन कार्यक्रम सञ्चालन गरिनु पर्ने बताईन् ।
‘नगरपालिकाले यस क्षेत्रमा लाई स्मार्ट सिटीको रुपमा विकास गर्नका लागि सुरुवाती दिने देखि नै माथिल्लो तहमा पहल गदैँ आएको थियो ।’ उनले भनीन् ‘बजेटसहित भीमदत्त छनौट भएकाले यो क्षेत्र स्मार्ट सिटी बनाउने योजना सुरु भएको छ, नगरपालिकाले चाँडै काम सुरु गर्छ ।’