महेन्द्रनगर, ७ भदौ
स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी दोब्बर बढी पुगेको छ । दुई वर्षमा नगरपालिकाको आन्तरिक राजश्व ११ करोड ५१ लाख पुगेको छ । स्थानीय तह निर्वाचन अघिसम्म नगरपालिकाको आन्तरिक आम्दानी ५ करोड थियो । निर्वाचन पछिका दुई वर्षमा आन्तरिक आम्दानी दोब्बर बढी पुगेको हो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनपछि दुई वर्षमा नगरपालिकाको पाँच करोडको आन्तरिक राजश्व दोब्बर बढीले वृद्धि भएको बताउनु भयो । ‘स्थानीय तह निर्वाचन अघिसम्म नगरपालिकाको आन्तरिक राजश्व पाँच करोड हाराहारी थियो, यो दोब्ब भन्दा बढीले बढेको छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘आगामी दिनमा यसलाई अझै बढाउने लक्ष्यका साथ अघि बढेका छौ ।’
गत वर्षको आम्दानीका आधारमा चालु आर्थिक वर्षमा १३ करोड २४ लाख आन्तरिक राजश्व संकलनको लक्ष्य राखिएको छ । पाँचौ नगर सभाबाट एक अर्ब २२ करोडको बजेट पारित गरिएको थियो । गत वर्ष सेवा शुल्कबाट सबैभन्दा ५ करोड ३२ लाख राजश्व संकलन गरिएको छ । सेवा शुल्कबाट ४ करोड २७ लाख आम्दानीको लक्ष्य राखिएको थियो । ३ करोड २६ लाख लक्ष्य राखिएको रोयल्टीबाट ४ करोड ७७ लाख आम्दानी गरिएको छ ।
नयाँ संविधान अनुसार रोयल्टी र बहालको कर संकलन अधिकार स्थानीय तहलाई दिइएको छ । नक्सा पास १ करोड २० बहाल कर ५४ लाख ४७ हजार र लाख आम्दानी गरिएको छ ।
गत वर्ष स्थानीय कर २ करोड ४९ लाख, व्यवसाय कर ९२ लाख, सम्पत्ति कर ८२ लाख, दुस्तर २ करोड ४५ लाख संकलन गरिएको थियो ।
भीमदत्त नगरपालिका राजश्व परामर्श समितिका संयोजक उप नगर प्रमुख सुशिला चन्द सिहले नगरपालिकाले राजश्व सुधारका लागि कार्य योजना निर्माण गरिएको बताउनु भयो । ‘राजश्व सुधारका लागि कार्य योजना बनाएर सञ्चालनमा ल्याएका छौ, त्यसका आधारमा राजश्व संकलन गरिएको हो’ नगर उप प्रमुख चन्दले भन्नु भयो, ‘कार्य योजनालाई टेकेर काम गर्दा राजश्व संकलनमा अपेक्षित सफलता हासिल गरिएको छ ।’
गत वर्ष वडा कार्यालयमा करदाता शिक्षा कार्यक्रम सञ्चालन, कर अनुसन्धान, करका दायरा विस्तार, आन्तरिक राजश्व प्रशासन सुधार लगायतका कार्यक्रम गरिएका छन् । राजश्व संकलनका लागि वडाहरुमा जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचाकल समेत परिचालन गरिएका छन् ।
राजश्व परामर्श समितिका सदस्य हिमाल बहादुर चन्दले जनप्रतिनिधि र कर्मचारीको मिहिनेतबाट नगरपालिकाले लक्ष्य अनुसार राजश्व संकलन गर्न सफल भएको बताउनु भयो । ‘नगर वासिन्दालाई कर सम्बन्धी जागरुकदेखि कर अनुसन्धान, दायरा विस्तार, सम्भाव्यता अध्ययन, कर्मचारीहरुलाई कर सम्बन्धी तालिम लगायतका कार्य गरिएका छन्’ राजश्व परामर्श समितिका सदस्य चन्दले भन्नु भयो, ‘यी कार्यलाई यस वर्ष पनि निरन्तरता दिनेछौ ।’
नयाँ शासन व्यवस्था अनुसार स्थानीय तहले केही नयाँ क्षेत्रमा कर संकलनको अधिकार पाएको छ । ढुङ्गा, गिट्टी, बालुवाको रोयल्टी संकलन अधिकार स्थानीय तहलाई दिइएको छ । यसैगरी आन्तरिक राजश्व कार्यालयले संकलन गर्दै आएको बहाल करको अधिकार पनि स्थानीय तहमा आएको छ । भीमदत्त नगरपालिकाले गत वर्ष महाकाली नदीको रोयल्टी ठेक्काबाट तीन करोड ७० लाख राजश्व संकलन गरेको छ । यस वर्ष महाकाली नदी रोयल्टीको ठेक्का झण्डै चार करोडमा गएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले गत वर्षलाई कर संकलन वर्षका रुपमा घोषणा गर्नु भएको
थियो । वडा स्तरीय करदाता शिक्षा कार्यक्रममा नगर प्रमुख विष्ट आफैं सहभागी हुनु भएको थियो ।पाँचौ नगर सभाबाट प्रगतिशिल कर प्रणालीका आधारमा राजश्व संकलन गर्ने नीति पारित गरिएको छ । कर संकलनका लागि दायरा विस्तार गरी कर संकलन अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।
‘करका दर होइन, दायरा विस्तार गरी कर संकलनलाई प्रभावकारी रुपमा अघि बढाउ प्रगतिशिल कर प्रणालीको कुरा अघि सारेका छौ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘यस आधारमा बढी आम्दानी हुनेले बढी तिर्छ, कम हुनेले कम तिर्छ ।’