महेन्द्रनगर, १६ फागुन
तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव २०७६ को आठौं दिन राष्ट्रपति विद्यादेबी भण्डारीको उपस्थितिमा विशेष समारोह गरिएको छ । मझगाउँ विमानस्थलमा गरिएको समारोहलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नु भएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला त्रिपाठी, सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट सहित मन्त्री, साँसद, पूर्व मन्त्री लगायतका सहभागी कार्यक्रममा भीमदत्त नगरपालिकाले राष्ट्रपति भण्डारीलाई सम्मान गरेको छ । समारोहमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले राष्ट्रपति भण्डारीलाई भीमदत्त नगरपालिकाका नगर वासिन्दाका तर्फबाट सम्मान पत्र प्रदान गर्नु भयो ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जल विद्युत, यातायात, एकीकृत वस्ती विकास,कृषि क्षेत्र लगायतका ठूला आयोजनाले सुदूरपश्चिम प्रदेशको विकास हुने बताउनु भयो । ‘पश्चिम सेती, कैलाश मानसरोवर पहँुच मार्ग, पहाडी क्षेत्रमा एकीकृत वस्ती विकास कार्यक्रमले यस क्षेत्रको जनजीवन सहज हुन्छ’ राष्ट्रपति भण्डारीले भन्नु भयो,‘कृषि क्षेत्रको विकासमा पनि ध्यान दिनु आवश्यक छ ।’
राष्ट्रपति भण्डारीले सामुदायिक शिक्षा सुधारका लागि शैक्षिक जनशक्ति र भौतिक पूर्वाधार निर्माण कार्य गरिनु पर्नेमा जोड दिनु भयो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई थप सुदृढीकरण गरिनु पर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनु भएको छ ।
राष्ट्रपति कैलालीको धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ । भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवबाट नेपाल भ्रमण वर्ष सफल पार्न सहयोग पुग्ने राष्ट्रपति भण्डारीले बताउनु् भयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री भट्टले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारले पूर्वाधार निर्माण र प्रचारप्रसारका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनु भयो । ‘नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रम गरिरहेको छ, पर्यटन विकासका लागि अहिले पाँच ओटा कोरिडोर निर्माण गरिरहका छौ’ मुख्यमन्त्री भट्टले भन्नु भयो,‘शुक्लाफाँटा पर्यटन महोत्सवले पनि यसमा टेवा पु्गाउने आशा लिएको छु ।’ महाकाली अस्पताल सुधारका लागि प्रदेश सरकार नीतिगत रुपमा लागेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले अस्पताल सुधार गरिने बताउनु भयो ।
कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा.दिपक प्रकाश भट्टले बैतडी र डडेल्धुरा देश सञ्चालनको नेतृत्वमा पुगे पनि सुदूरपश्चिमले विकासको अनुभूति हुन नसकेको बताउनु भयो । ‘सानोमा सुदूरपश्चिम पछाडि पारिएको छ, विकास नभएको कुरा सुन्थ्यौ, यो क्षेत्रका नेतृत्व भए विकास हुने ठान्थ्यौ’ साँसद भट्टले भन्नु भयो,‘ बैतडी र डडेल्धुराले देशको नेतृत्व लिए, तैपनि तैपनि सानो सुनेका कुरा खासै बदलिएन, सुुदूरपश्चिमले विकास पाएन ।’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भने सुदूरपश्चिम क्षेत्रको विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै साँसद भट्टले नेकपाको सरकारले सुदूरपश्चिम जनताका विकासका सपना पूरा गर्ने बताउनु भयो । मझगाउँ विमानस्थल सञ्चालन, महाकाली अस्पताल सुधार, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, महाकाली नदीमा चार लेनको पक्की पुल र महाकाली कोरिडोर निर्माण लगायतलाई प्राथमिकता दिइएको साँसद भट्टको भनाई थियो ।
मझगाउँ विमानस्थल सञ्चालनका लागि यस वर्ष तारबारका लागि एक करोड बजेट विनियोजन भएर काम अघि बढेको उल्लेख गर्दै साँसद भट्टले आगामी वर्ष कालोपत्रे निर्माण गरिने बताउनु भयो । महाकाली अस्पताल सुधारको दिशामा अघि बढेको साँसद भट्टले बताउनु भयो । ‘हिजोसम्म तीन जना चिकित्सक नहुने अस्पतालमा अहिले २० जना चिकित्सक छन्’ साँसद भट्टले भन्नु भयो,‘यो सुधारको दिशमा अघि बढेको छ, सुधारको कार्यलाई निरन्तरता दिएर अघि जान्छौ ।’
महाकाली अस्पताललाई २ सय ५० शैययाको बनाइने साँसद भट्टको भनाई थियो । नेकपाको सरकारले सुदूरपश्चिम प्रदेशलाई पछाडि पारिएको तथ्यलाई मध्यनजर गरी विकासका लागि विशेष प्राथमिकता दिइएको साँसद भट्टले बताउनु भयो ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै भीमदत्त नगरपालिकाको विकास र समृद्धिका लागि प्रदेश र संघीय सरकार दुबैको साझेदारी र सहयोग आवश्यक रहेको बताउनु भयो । ‘हाम्रो आमन्त्रण स्वीकार गरी सम्मानिय राष्ट्रपति महोत्सवको विशेष समारोहमा पाल्नु भएकोमा म भीमदत्त नगरपालिका र सबै नगरवासीको तर्फबाट हार्दिक स्वागत तथा सम्मान गर्नु चाहन्छु’ नगर प्रमुख विष्टले भन्नु भयो,‘ विकास र समृद्धि स्थानीय सरकार एक्लैको प्रयासबाट सम्भव छैन, त्यसैले प्रदेश र संघ सरकारको सहयोग,साझेदारी र समन्वय पनि आवश्यक छ ।’
दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणलाई प्राथमिकता दिनु पर्ने उल्लेख गर्दैै नगर प्रमुख विष्टले त्यसका लागि महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण कार्य सन्तोसजनक रुपमा अघि बढेको बताउनु भयो । सुदूरपश्चिम प्रदेशको विकासका लागि महत्वपूर्ण ठानिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको कार्यालय भीमदत्त नगरपालिकामा स्थापना गरिए पनि अपेक्षित रुपमा उपलब्धि हासिल हुन नसकेको नगर प्रमुख विष्टले बताउनु भयो ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सव लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दैै नगर प्रमुख विष्टले पूर्णागिरी माताका दर्शनार्थीहरुलाई खल्ला मुसेट्टीबाट भीमदत्त नगरपालिकामा ल्याउन महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरिनु पर्ने आवश्यकता औल्याउनु भयो ।
भीमदत्त नगरपालिका पश्चिमी सीमा नाका भएकाले भ्रमण वर्षका लागि पश्चिमी सीमा नाका गड्डाचौकीलाई प्राथमिकता दिएर अघि बढेको उल्लेख गर्दै नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय हब बनाउने लक्ष्य राखिएको बताउनु भयो ।
नगर प्रमुख विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा नगर उप प्रमुख सुशिला चन्द सिहले स्वागत मन्तव्य राख्दै राष्ट्रपति भण्डारी राष्ट्रपति हुनु देशका लागि प्रष्ठिाको विषय भएको बताउनु भयो ।नगर उप प्रमुख चन्दले राष्ट्रपति भण्डारीले भीमदत्त नगरपालिकाको आमन्त्रण स्वीकार गरी शुक्लाफाँटा पर्यटन महोत्सवको विशेष समारोहमा सहभागी हुनु भएकोमा आभार व्यक्त गर्नु भयो ।
कार्यक्रममा नगर प्रमुख विष्टले राष्ट्रपति भण्डारीलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण बाह्रसिंगाको चित्र अंकित मायोको चिनो प्रदान गर्नु भयो । भीमदत्त नगरपालिकाको संयोजनमा स्थानीय तह सहित विभिन्न सरोकारवाला निकायहरुको सहकार्यमा फाग्न ९ गतेदेखि शुक्लाफाँटा पर्यटन महोत्सव गरिएको हो । स्थानीय तह निर्वाचनपछि तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको फाग्न ९ गतेका दिन महोत्सव गरिएको हो ।
महोत्सवको विशेष समारोहमा विभिन्न क्षेत्रका साँस्कृतिक झाँकी प्रस्तुत गरिएका छन् । तीन दिने सुदूरपश्चिम प्रदेश भ्रमणमा रहनु भएका राष्ट्रपति भण्डारी शुक्रबार दिउँसो महोत्सवको विशेष समारोहका लागि सेना हेलिकप्टरबाट मझगाउँ आउनु भएको हो ।
कार्यक्रममा संघीय सँसदको महिला तथा सामाजिक विकास समितिका सभापति निरु पाल, सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापा, पूर्व उद्योग मन्त्री एवम् नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापा, पूर्व मन्त्री एवं नेकपाका सुदूरपश्चिम प्रदेश सह ईन्र्चाज भानुभक्त जैशी, सघीय सांसद माननीय डा.दिपक प्रकाश भट्ट, नर बहादुर धामी, विना बुढाथोकी, सुदूरपश्चिम प्रदेश सभा नेकपाका प्रमुख सचेतक तारालामा तामाङ्ग, प्रदेश सभा सदस्यहरु प्रकाश रावल, माननीय मान बहादुर सुनार, लाल बहादुर खडका, महेशदत्त जोशी, पूर्व उप सभामुख भोजराज जोशी, पूर्व साँसद रामकुमार ज्ञवाली, पुर्व सहायक मन्त्री लाल बहादुर वि.क, नेपाली काँग्रेसका नेता पूर्व सांसद गंगादत्त जोशी, जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्ग, उप प्रमुख सानु बुडथापा महरा सहित विभिन्न स्थानीय तहका प्रमुख उप प्रमुख सहभागी हुनु भएको छ ।