• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

रेडक्रसको ब्लक बैंकलाई यस वर्ष पनि भीमदत्तको तीन लाख सहयोग, साझेदारीलाई निरन्तरता दिइने मेयरको प्रतिवद्धता

Byभीमदत्त अनलाइन

३ पुष २०७७, शुक्रबार १५:४५ ३ पुष २०७७, शुक्रबार १५:४५ ३ पुष २०७७, शुक्रबार १५:४५

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरलाई रक्त सञ्चार सेवा केन्द्र(ब्लड बैंक) सञ्चालनका लागि यस वर्ष पनि सहयोग गरेको छ । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले रेडक्रसलाई ब्लड बैंक सञ्चालनका लागि बर्सेनी तीन लाख नगद सहयोग गर्दै आएको छ ।

नगरपालिकाले यस वर्ष पनि ब्लक बैंक सञ्चालनका लागि तीन लाख सहयोग गरेको छ । नगरपालिका कार्यालयमा कार्यक्रम गरी रेडक्रसलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । कार्यक्रममा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले रेडक्रसका जिल्ला सभापति टेकराज उप्रेतीलाई तीन लाखको चेक हस्तान्तरण गर्नु भयो ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र रेडक्रसका पदाधिकारीहरु कार्यक्रममा सहभागी भएका छन् । चेक हस्तान्तरणपछि भीमदत्तका मेयर विष्टले साझेदारी र सहकार्य गरी नगरलाई समृद्ध बनाउने नीति अनुसार रेडक्रसको रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि सहयोग गरिएको बताउनु भयो ।

‘सहकार्य र साभेदारीबाट मात्रै नगरको विकास र समृद्धि ल्याउन सकिन्छ, त्यस अनुसार अघि बढेका छौ’ मेयर विष्टले भन्नु भयो, ‘रेडक्रससित पूर्वाधार सहितमा साझेदारी गरिएको छ, त्यससंगै ब्लक बैंकमा पनि साभेदारी गरिएको छ ।’

भीमदत्त नगरपालिकाको सातौ नगर सभाबाट यस वर्षका लागि ब्लड बैंक सञ्चालनका लागि बजेट विनियोजन गरिएको थियो । यस अघिका दुई वर्ष पनि नगर सभाबाट बजेट विनियोजन गरी रेडक्रसलाई हस्तान्तरण गरिएको थियो ।

रेडक्रसले कमजोर समुदायका वासिन्दालाई निःशुल्क रुपमा रगत उपलब्ध गराउन सबै स्थानीय तहसंगै सहयोगका लागि आग्रह गरेको थियो । रेडक्रसको आग्रह अनुसार भीमदत्त नगरले निरन्तर रुपमा तीन÷तीन लाख सहयोग गर्दै आएको हो ।

रेडक्रस सोसाइटीका जिल्ला सभापति उप्रेतीले भीमदत्तले बर्सेनी सहयोग गरी रगत किन्न नसक्ने वासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउन सहज भएको बताउनु भयो ।

‘नगरपालिकाले बर्सेनी सहयोग गदै आएको छ, यो सहयोगमा रगत नपाएर मृत्यु शैय्यामा जाने व्यक्तिको जीवन बच्न सक्छ’ सभापति उप्रेतीले भन्नु भयो, ‘भीमदत्तले यो ठूलो रकम उपलब्ध गराएको छ, यसका लागि नगरपालिकालाई धन्यवाद दिदैं आभार व्यक्त गर्दछौ ।’

कञ्चनपुरका सबै स्थानीय तहलाई आग्रह गरिए पनि सबै तहबाट सहयोग उपलब्ध हुन नसकेको सभापति उप्रेतीले बताउनु भयो । रेडक्रसले रगतका लागि प्रति व्यक्ति सात सय ६० रुपैँया लिने गरेको छ । भीमदत्तको सहयोगपछि कमजोर अवस्थाका नगर वासिन्दाले निःशुल्क रुपमा रगत पाउने भएका छन् ।

कार्यक्रममा रेडक्रस सभापति उप्रेतीले भीमदत्तका मेयर विष्टले महाकाली अस्पतालको विकासका लागि गरेको सहयोग सराहनीय भएको उल्लेख गर्दै नगरपालिकासित साझेदारी र सहकार्यलाई निरन्तरता दिइने बताउनु भयो ।

भीमदत्त नगरपालिका र रेडक्रसबीच पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, आय आयआर्जन, रक्त सञ्चार सेवा केन्द्र सञ्चालन लगायतमा साझेदारी भएको छ । भीमदत्त नगरपालिका १० श्रीलंका र खल्ला मुसेट्टीमा दुबैको साझेदारीमा पूर्वाधार निर्माणका कार्य गरिएका छन् ।

चेक हस्तान्तरण कार्यक्रममा भीमदत्त नगरपालिका १५ का अध्यक्ष भीम बहादुर शाहु, प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट, प्रशासकीय अधिकृत हरिसिह धामी, रेडक्रसका उप सभापतिद्वय मन्जु दाहाल र नर बहादुर राना, कार्यालय प्रमुख मनोज उप्रेती, कर्मचारी महेशदत्त भट्ट लगायतका सहभागी भएका छन् ।

भीमदत्तको मेयर विष्टको अध्यक्षतामा गरिएको कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत धामीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *