महेन्द्रनगर, २७ साउन
भीमदत्त नगरपालिका वडा नं. २ मा अनुगमन गरिएको छ । वडा अध्यक्ष डम्मर सिह कार्की (डिके) को नेतृत्वमा वडा सदस्य, सुरक्षा निकाय, टोल विकास संस्थाका पदाधिकारीहरुले संयुक्त अनुगमन गरेका छन् ।
वडा कार्यालयले केही दिन अघि अवैध मदिरा कारोबार बन्द र जुवाताश बन्द लगायतका निर्णय गरी वडालाई नमूना बनाउने घोषणा गरेको थियो ।
वडा कार्यालयको निर्णय अनुसार सोमबार वडामा अनुगमन गरिएको हो । वडा अध्यक्ष कार्कीले वडा कार्यालयको नमूना वडा बनाउने निर्णय कार्यान्वयनका लागि अनुगमन गरिएको जानकारी दिनु भयो ।
‘साउन २२ गते गरिएको निर्णय कार्यान्वयन गराउन टोल विकास संस्थाका अध्यक्ष, सुरक्षा निकाय , वडा सदस्य तथा पत्रकार लगायतको सहभागितामा अनुगमन गरिएको छ’ वडा अध्यक्ष कार्कीले भन्नु भयो ।
वडा कार्यालयले मदिरा कारोबार व्यवस्थित बनाउन अनुमति लिएका व्यवसायीका लागि समेत समय सीमा तोकेको
थियो । वडा कार्यालयको निर्णय अनुसार अनुमति प्राप्त व्यवसायीले दिउँसो ३ः०० बजेदेखि राति ९ः०० बजेसम्म मदिरा बेचबिखन बेचबिखन गर्न पाउने व्यवस्था गरिएको छ ।
अनुगमन क्रममा अवैध मदिरा बरामद र तासका गड्डी बरामद गरिएका छन् । वडा अध्यक्ष कार्कीले बरामद मदिरा र गड्डी नष्ट गरिएका जानकारी दिनु भयो । वडा अध्यक्ष कार्कीले गौरा पर्वलाई मध्यनजर गरी अनुगमनलाई तीव्र बनाइने बताउनु भयो । ‘अनुगमन तिव्रताका साथ अघि बढाउँछौ, अटेर गर्ने जो कोहीलाई पनि नगरपालिकाको कार्यविधि अनुरुप कार्यवाहीको दायरामा ल्याउँछौ’ वडा अध्यक्ष कार्कीले भन्नु भयो ।