रनि विवश
महेन्द्रनगर, २ असोज
महाभारत पर्वत श्रृंखलाको कान्छो पहाडको मध्य भाग । चारैतिर घना जङ्गल । विचमा सफा सुन्दर र शान्त ताल, स्निग्ध वातावरण । चार तिर देवी देवताका थान । तालको पानी कति कञ्चन भने, न त्यहाँ रुखका पात खसेका छन्, न पानीको कुनै निकास नै भेटिन्छ । अलौकिक सौन्दर्य नियालेर हेर्ने हो भने पानीका फोकाहरु हल्का गरी झिल्का जस्तो देखिने ।
भीमदत्त नगरपालिका वडा नं. ९ चुरे पहाडमा झिलमिला ताल आफ्नो अलौलिक दृष्य देखाएर वर्षौैदेखि आकर्षणको केन्द्र बनेको छ । झिलमिला ताल स्वदेशी र विदेशी सबैको रोजाईमा परेको छ ।
‘अप्ठेरो समस्यामा परेका मान्छेहरु आफ्नो मनोकामना लिएर आउँछन्, माता झिलमिलाको दर्शन गरेपछि त्यो मनोकामना पूरा हुने विश्वास गरिन्छ’ समाजसेवी लाल बहादुर विष्टले भन्नु भयो । विष्ट झिलमिला संरक्षण विकास समितिका उपाध्यक्ष हुनुहुन्छ ।
दुई वर्ष अघि भीमदत्त नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाका वासिन्दाले संयुक्त रुपमा ताल संरक्षणका लागि भीनपा वडा नं. ९ का मोति सिह महताको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिका उपाध्यक्ष विष्ट परशुराम नगरपालिका–७ नउलाका वासिन्दा हुनुहुन्छ ।
‘म सानैदेखि यो ताल देखेको छु, न त यसको पानी कतै निकास हुन्छ, न त कम हुन्छ, बर्खामा अलि मात्रै बढ्छ’ समाजसेवी विष्टले भन्नु भयो, ‘यो तालमा के शक्ति छ, कस्तो छ, आजसम्म कसैलाई पनि थाहा छैन ।’ विहान, दिउँसो र साँझ तीन पटक पानीको रङ्ग फेरिने गर्छ । विहान सुनहरा, दिउँसो निलो र साँझ हरियो आकारमा ताललाई देख्न सकिन्छ । दैनिक रङ्ग फेरिने भएकाले यसको नाम झिलमिला राखिएको हो । ‘यसरी दिनदिनै रङ्ग फेरिएर भिलमिल हुने भएकाले यसको नाम झिलमिला रहन गएको हो’ उपाध्यक्ष विष्टले भन्नु भयो ।
महाभारतमा झिलमिला तालको अलौकिक शक्तिको वर्णन गरिएको छ । पाण्डवहरु वनबासाको समयमा द्रोपतीलाई पानीको प्यास लाग्यो । अर्जुनले रुखमा चढेर पानी भएको ताल देखेपछि एक भाईलाई त्यहाँ पठायो । पानी लिन गएका ती व्यक्ति फर्केर आएन । त्यसपछि गएका अर्का पनि फर्केन । सबैको त्यहीं ज्याना गयो । अन्तिममा युधिष्टिर आफैं पानी लिन गए । त्यहीं बेला तालबाट निस्केको अदृष्य शक्तिले युधिष्टिलाई प्रश्न सोधे । सबै प्रश्नको जवाफ दिएपछि उनलाई एउटा भाई जिउँदो माग्ने वर माग्न लगाइयो । युधिष्टरले सौतेलो भाई अर्जुनलाई जिउँदो माग गरे । त्यसपछि त्यो अलौलिक शक्ति खुसी भएर युधिष्टरका सबै भाईलाई जिउँदो बनाएरको कथा
छ । ‘महाभारतको यो कथाले पनि यो तालमा अलौलिक शक्ति भएको विश्वास गरिन्छ’ समाजसेवी विष्ट भन्नु हुन्छ ।
प्राकृतिक र धार्मिक दुबै हिसाबले तालले महत्व बोकेको छ । प्राकृतिक रुपमा चारैतिर जङ्गलले घेरिएको ताल दैनिक रङ्ग अदलबदल गरी मन लोभ्याउने गर्छ । दर्शनार्थीले फ्याकृेका अक्षता खान झुप्पामा आउने कालो कद भएका जुँगे माछाले मनलाई झन हौसाई दिन्छ । काला माछा बाहेक ताल सर्प बस्ने पनि देखिने गरेका छन् ।
अक्षता खान हुल बाँधेर आउने माछा सर्पसित डराएको जस्तो देखिदैन । वर्षौदेखि समान आकारमा देखिदैं आएका माछा दर्शनार्थीका नजरमा ठ्याक्कै पर्ने गर्छन् । तालको दैवीय शक्तिका कारण माछा मारेर खाने गरिएको छैन । तत्कालिन नेकपा (माओवादी) को सशस्त्र जनयुद्धमा तालका माछा मारेर आएका माओवादी कार्यकर्ता सैनिक कारवाहीमा मारिएको स्थानीय बताउँछन् ।
तालमा माछा मारेर खाएका चार जना परशुराम नगरपालिकाको नउलाको छिमेकी गाउँ भुईतालमा सैनिक कारवाहीमा मारिएका थिए । ‘अरु कसैले खाएका थिएन, माछा खाएका दिन उनीहरु सैनिक कारवाहीमा मारिए, त्यो दैवीय शक्तिले त होला, त्यहीं दिन सेना पुग्यो, भिडन्तमा मृत्यु भयो’ समाजसेवी विष्टले भन्नु भयो ।
केही वर्ष अघि माछालाई पोलिथिनमा राखेर घर लैजान खोज्ने भारतीय नागरिक वेहोस भएको स्थानीय बताउँछन् । डेढ किलोमिटर लम्बाईको ताल चार बिगाहामा फैलिएको छ । १७ मिटर गहिराईको ताल चारैतिरबाट साल, साज, जामुनको घना जङ्गलले ढाकिएको छ । तालको चारैतिर परिक्रमा गर्न परिक्रमा पथ निर्माण अघि बढेको छ । अहिले ६ सय मिटर लम्बाईको परिक्रमा पथ निर्माण पूरा हुने अपेक्षा गरिएको छ ।
तालको चार दिशमा देवी देवताका मन्दिर थपना छन् । दक्षिणतिर झिलमिला माताको मन्दिर छ । सुरुमा झिलमिला माताको दर्शन गरी ताललाई दाहिने गरी दर्शनार्थीले ताल परिक्रमा गर्छन् । माताको मन्दिर नजिक सिद्ध बैजनाथको थपना छ । पश्चिमी किनारमा काली अर्थात दुर्गा माता र अर्को छेउमा पूर्णा्गिरीको मन्दिर छ । ‘हरेक दर्शनार्थी सबै देवी देवताको पूजापाठ गरी फर्किने गर्छन्’ भीमदत्त नगरपालिका ब्रह्मदेबका शंकर सिह विष्टले भन्नु भयो ।
वर्षभरि दर्शनार्थी जाने झिलमिला तालमा माघे संक्रान्तिको अघिल्लो दिन भव्य रुपमा मनाइने गरिएको छ । त्यस दिन स्वदेश विदेशका दर्शनार्थीहरु रातभर जाग्राम बसेर भजन किर्तन गर्छन् । अर्को दिन देवी देवताका मन्दिरमा पूजापाठ गरी घर फर्किने गरेका छन् ।
पूर्णागिरी मेला अर्थात चैते दशैँमा भारतका विभिन्न सहरबाट दर्शनार्थीहरु आएर ताल छेउको पूर्णा्गिरी माताको दर्शन गर्दैै आएका छन् । दर्शनार्थीले मन्दिरमा चढाएका त्रिशुल र रङ्गिन वस्नले तालको शोभा बढेको छ । भीमदत्त नगरपालिकाको मटेनाबाट चुरेको जङ्गल हुँदै दुई घण्टामा तालसम्म पुग्न सकिन्छ । मटेनाबाट गहुँताणाी मन्दिर हुँदै ताराकोट भएर झिलमिला पुग्ने गरिएको छ । ब्रह्मदेब र कालिताल झरना बाटो भएर ताराकोट हुँदै तालसम्म पुग्ने बाटा छन् ।
मटेनामा ताराकोटसम्म ९ दशमदव ५ किलोमिटर र त्यसपछि डेढ किलोमिटर दुरी उकालो र तेस्रो बाटो पार गरी तालमा पुग्न सकिन्छ । दर्शनार्थीलाई सहज रुपमा तालसम्म पुगाउन सडक बनाउन सुरु गरिएको छ ।
भीमदत्त नगरपालिका तालसम्म पुग्न मोटर बाटो पुगाउने कार्य अघि सारेको छ । मटेना हुँदै ताराकोटसम्म पक्की सडक र त्यसपछि डेढ किलोमिटरमा पदमार्ग निर्माण गरी तालसम्म सहज पुगाउने योजना अघि सारिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भयो । ‘तालको संरक्षण र प्रचारप्रसार गरी धार्मिक पर्यटकीय क्षेत्र बनाउने सोचाईका साथ योजना अघि बढाएका छौ’ नगर प्रमुख विष्टले भन्नु भयो , ‘यसका लागि संघ र प्रदेश सरकार पनि पहल गरिरहेका छौ ।’
ताल नजिक पूजापाठ र बस्नका लागि पूर्वाधार निर्माण गरिएका छन् । धुनीघर, पूजारी घर धर्मशाला बनाइएको छ । धर्मलाशा दुई ओटा छन् । एउटा धर्मशालामा दर्शनार्थी पर्यटकलाई खाना पकाउनका लागि भाँडाकुँडा राखिएका छन् । अहिले पूजारी बस्ने घरमा यस अघि महात्मा बस्ने गर्थे । उनको निधनपछि पूजारी बस्दै आएका छन् । झिलमिलामा तालको प्रचारप्रसार र पूर्वाधार निर्माणका कार्य गरिएका छन् । ताल वपिरि चक्रपथ निर्माण र ताल छेउमा बस्नका लागि बेञ्च राखिएका छन् ।
‘तालको प्रचारप्रसारका लागि शिवपुराण लगायौ, शौचालय निर्माण, सोलार जडान लगायतका पूर्वाधार बनाएका छौ’ झिलमिला संरक्षण समितिका उपाध्यक्ष लाल सिह विष्टले भन्नु भयो । तल उत्तर र पूर्वी किनारबाट बर्खामा आउने माटोले पुरिने गरेको छ । ताल पुरिन नदिन माटो रोकथामका लागि कार्यक्रम गरिनु पर्ने उपाध्यक्ष विष्टले बताउनु भयो । ‘नत्र ताल पुरिन सक्छ, यसका लागि समयमै सचेत हुन आवश्यक छ’ विष्टले भन्नु भयो । झिलमिलालाई पर्यटकीय गन्तव्य बनाउन सरकारी तथा गैर सरकारी प्रयास गरिएका छन् ।
तत्कालिन जिल्ला समन्वय समितिका सभापति ऋषिराज लुम्सालीले सडक खनेका थिए । जिविसको विश्व खाद्य कार्यक्रम खनिएको सडकमा केही समय गाडी गुडेका थिए । सशस्त्र द्वन्द्वका कारण सवारी सञ्चालन रोकिएको थियो । धुमपान निषेधका अभियन्ता हेल्प मदन चन्दको हेल्प नेपाल, कञ्चनपुर उद्योग बाणिज्य संघ, राष्ट्रिय सञ्चार केन्द्र लगायतले तालको पर्यटन प्रवद्र्धनलाई सहयोग गर्नु भएको छ ।
पुग्ने कसरी झिलमिला ?
भीमदत्त नगरपालिका वडा नं. ९ मटेना, ब्रह्मदेब र भीनपा १० तिल्केनीबाट झिलमिला ताल पुग्न सकिन्छ । चुरे फेदमा दुई घण्टा पैदल हिँडेपछि ताल छेउमा पुग्ने गरिन्छ । यी तीनै ठाउँका बाटो ताराकोटमा जोडिन्छन् ।
भीमदत्त नगरपालिको भ्यू टावर प्रस्तावित ताराकोट यस अघि स्थानीय गोठ थिए । चुरे संरक्षण कार्यक्रम सुरु गरिएपछि ती गोठ हटाइएका थिए । ताराकोटबाट माथि झिलमिला हिँडेपछि माछा मासु खान नपाइने भएकाले ताराकोटलाई पिकनिक स्पट बनाउने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको योजना छ ।
मटेनाबाट गहुँताणी मन्दिर हुँदै जङ्गल छिचोल्दै ताराकोट पैदल पुगिन्छ । तिल्केनीको बाटो भएर ताराकोट पुग्न सकिन्छ । तिल्केनीबाट कालीनाल झरना देख्न पाइन्छ । त्यहाँबाट हिँडेर ताराकोट हुँदै झिलमिला पुग्न सकिन्छ । डडेल्धुराबाट आउनेले भने परशुराम नगरपालिका न्वाला गाउँ भएर आउने गरेका छन् । भीमदत्त नगर र परशराम दुबै नगरपालिका जोड्न दुबै स्थानीय तह एकमत छन् ।