• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

शिवधाम भाँसी पुल सडक अतिक्रमण हटाइने

Byभीमदत्त अनलाइन

१ कार्तिक २०७६, शुक्रबार १९:२५ १ कार्तिक २०७६, शुक्रबार १९:२५ १ कार्तिक २०७६, शुक्रबार १९:२५

महेन्द्रनगर, १ कार्तिक
पूर्व पश्चिम राजमार्गको शिवधामदेखि भाँसीसम्म सडक अतिक्रमण हटाउन आइतबारदेखि अभियान सुरु हुने भएको छ । सडक डिभिजन कार्यालयमा शुक्रबार बसेको वडा कार्यालय र प्रशासन कार्यालय सहितको सर्वपक्षीय बैठकले सडक अतिक्रमण खाली गर्न पहिलो चरणमा शिवधामदेखि भाँसी पुलसम्म अभियान चलाउने निर्णय गरिएको छ ।

सडक अतिक्रमण हटाउन अभियानमा प्रशासन कार्यालय, भीनपा वडा नं. ६, वडा नं. ४, उद्यमी व्यवसायी, ठेला व्यवसायी सहित सबै पक्ष सहमत देखिएका छन् । सर्ब पक्षीय बैठकले आइतबार सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना, सडकको क्षेत्रमा सञ्चालन गरिएको व्यापार र सडकमा राखिएका निर्माण सामग्री सबैलाई हटाएर सडक खाली गर्ने निर्णय गरिएको छ ।

सडक डिभिजन कार्यालय र भीमदत्त नगरपालिका वडा नं. ६, नमूना युवा साँसद भीमदत्त नगरपालिकाले यस अघि सडक अतिक्रमण हटाउन सार्वजनिक सूचना आव्हान गरि सकेका छन् । बैठकमा सहभागी भीमदत्त नगरपालिका वडा नं. ६ का अध्यक्ष हरक सिह धामीले सर्वपक्षीय बैठकमा सहभागी सबैले सडक अतिक्रमण खाली सडक खाली गरी सभ्य सहर बनाउने प्रतिबद्धता जनाएको बताउनु भयो ।

‘सडक अतिक्रमण खाली गर्ने विषयमा छलफल भयो, भीमदत्तलाई सभ्य सहर बनाउन सडक अतिक्रमण खाली गर्न सबै पक्ष सहमत भएका छन्’ वडा अध्यक्ष धामीले भन्नु भयो,‘सबै पक्षको सहमति अनुसार आइतबारदेखि अतिक्रमण हटाउने अभियान सुरु हुन्छ ।’

बैठकमा सहभागी नेपाल स्वरोजगार व्यापार श्रमिक संघका प्रतिनिधिहरुले स्वरोजगार व्यवसायीहरुको व्यवस्थापनको माग अघि सारेका छन् । संघका प्रतिनिधिहरुले सडक अतिक्रमण गरी बस्ने आफूहरुको चाहना नभएकाले व्यवसायीलाई व्यवस्थापन गर्न माग राखेका हुन् ।

सर्वदलीय बैठकले स्वरोजगार व्यवसायीहरुलाई व्यवस्थापनका लागि भीमदत्त नगरपालिकासित अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिनु भयो । भीमदत्त नगरपालिकाले बजार व्यवस्थित बनाउन कर्मचारी मिलन केन्द्रमा ठेला व्यवस्थापन गरिएको छ । भीमदत्त नगरपालिका र वडा नं. ४ वडा कार्यालयले ठेला व्यवस्थापन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भीमदत्त नगरलाई सभ्य र स्वच्छ बनाउने अभियान अन्र्तगत नगरपालिकाले बजार व्यवस्थापनलाई प्राथमिकता दिएर कार्य गरिरहेको छ ।

भीनपा वडा नं. ६ का अध्यक्ष धामीले भन्नु भयो,‘भीमदत्त नगरपालिका पश्चिमी सीमा नाकाको नगर हो, भ्रमण वर्षमा आउने अधिकाँश पर्यटकहरु गड्डाचौकी नाकाबाट आउँछन्, वहाँहरुलाई स्वच्छ, चिटिक्क र सभ्य सहरमा स्वागत गर्न बजार व्यवस्थापन कार्यलाई प्राथमिकता दिएर अघि बढेका छौ ।’

सडक डिभिजन कार्यालयको बैठकमा डिभिजन प्रमुख अर्जुन कुमार बमले सडक अतिक्रमणले सवारी अस्तव्यस्त र दुर्घटनाको जोखिम बढेकाले अतिक्रमण हटाएर खाली नगरी नहुने अवस्था देखिएको बताउनु भयो । बैठकमा डिभिजन प्रमुख बम सहित भीनपा ६ का अध्यक्ष धामी, भीनपा ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, वडा सदस्य सुशिल कुमार भट्ट, नेपाल स्वरोजगार व्यवसायी श्रमिक संघका अध्यक्ष देब बहादुर थापा, कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष प्रमानन्द भण्डारी लगायतका सहभागी हुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *