महेन्द्रनगर, २९ भदौ
भीमदत्त नगरपालिकाका नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले अल्पसंख्यक लोपोन्मुख सोनाहा समुदायलाई जग्गाधनी पूर्जा दिन संघीय कानुन पर्खिएको बताउनु भएको छ ।
भीमदत्त नगरपालिका वडा नं. १२ वडा कार्यालयमा बाबा टिभीले छिनोफानो कार्यक्रमका लागि सोनाहा समुदायसंग गरेको संवाद कार्यक्रममा नगर प्रमुख विष्टले संघीय कानुन निर्माण भएपछि भीमदत्त नगरपालिकाले तत्काल पूर्जा वितरण सुरु गर्ने बताउनु भयो ।
‘यो समुदायले वर्र्षौदेखि जग्गाधनी पूर्जा पाएको छैन, स्थानीय सरकार छिटो भन्दा छिटो भन्दा पूर्जा वितरण गरी जग्गाधनी बनाउन चाहन्छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘त्यसका लागि संघ सरकारले कानुन बनाउनु पर्छ, कानुन निर्माण प्रक्रियामा छ, कानुन बनेपछि छिट्टै पूर्जा वितरण गर्छौ ।’
भीमदत्त नगरपालिकाले सोनाहा समुदायको पहिचान स्थापित गराउन आदिवासी जनजाति समुदायमा सूचीकृतका लागि पहिलो नगर सभाबाट निर्णय गरी संघीय सरकारका निकायलाई आग्रह गरिएको बताउनु भयो । ‘यो समुदाय सुन छान्ने काम गथ्र्यो, अहिले सुन छैन, माछा मार्ने काम गर्छ, त्यसमा पनि समस्या छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘यो समुदायको पहिचान हुन जरुरी छ, त्यसका लागि सूचीकृत गर्न नगरपालिकाले पहल गर्दै आएको छ ।’
नगर प्रमुख विष्टले सोनाहा समुदायलाई आत्मनिर्भर बनाउन सीप मुलक तालिम सञ्चालन गरिएको बताउनु भयो । नगरपालिकाले सोनाहा समूदायका लागि तरकारी खेती र चालक तालिम सञ्चालन गरिएको छ । यसैगरी सोनाहा समुदायको संस्कृति संरक्षणका लागि वडा कार्यालयबाट पोशाक वितरण गरिएको छ ।
नगर प्रमुख विष्टले सोनाहा समुदाय कष्टकर जीवन बिताउँदै आएकोले सीप मुलक तालिम प्रदान गरी आत्मनिर्भर बनाइने बताउनु भयो । सोनाहा समुदायका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गराउन नगरपालिकाले पहल गर्ने उल्लेख गर्दै नगर प्रमुख विष्टले शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयलाई प्राथमिकता दिइएको बताउनु भयो ।
कार्यक्रममा सहभागी सोनाहाहरुले शिक्षा, स्वास्थ्य, रोजगार सहित सूचीकृत गराउनु पर्ने लगायतका माग गरेका छ ।
कार्यक्रममा भीमदत्त नगरपालिका वडा नं. १२ का अध्यक्ष कृष्ण सिह देउपा, १० का अध्यक्ष प्रमानन्द जोशी, १५ का अध्यक्ष भीम बहादुर शाहु, १७ का अध्यक्ष हिमाल चन्द लगायतका जनप्रतिनिधि, स्थानीय सहभागी भएका छन् ।