महेन्द्रनगर, १० माघ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरले चमनचोकमा टिपरको ठक्करले युवतीको मृत्यु भएको घट्नलाई लिएर भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको घरमा गरिएको तोडफोड प्रयासको भत्र्सना गरेको छ ।
नेकपा जिल्ला कमिटी अध्यक्ष बीर बहादुर थापा र सचिव तारालामा तामाङ्गले शुक्रबार विज्ञप्ति प्रकाशित गरी सवारी दुर्घटनालाई लिएर नगर प्रमुख विष्टको घर तोडफोड प्रयास र हुलहुज्जत गर्ने कार्यको भत्र्सना गरी खेद व्यक्त गरिएको छ ।
विज्ञप्तिमा नगर प्रमुख विष्टको घरमा तोडफोडको प्रयास गरिएको घट्नाको छानबिन गरी संलग्नहरुलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
‘ मिति २०७६ माघ ९ गते भीमदत्त नगरपालिका मेयर सरेन्द्र विष्टको महेन्द्रनगरको गोल मार्केट नजिक घरमा भएको ढुंगामुडा र तोडफोडको प्रयास प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । सडक दुर्घटना जस्तो नितान्त फरक घटनालाई लिएर नगर प्रमुखको निजि निवासमा हुलहुज्जत गर्न जानु कुनै पनि अवस्थामा सह्य हुने विषय होइन्’ विज्ञप्तिमा भनिएको छ, ‘ त्यस्तो अराजक घटनाप्रति हामी खेद व्यक्त गर्दछौं । त्यस्तो निन्दनिय घटनाको तत्काल छानविन गरी दोषिहरुलाई कानूनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रत्याभूूति दिलाउन हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।’
नेकपा कञ्चनपुरले दुर्घटनामा ज्यान गुमाएकी बैतडीको दशरथ चन्द नगरपालिका–१ गुरुखोलाकी २० वर्षिया रमिता भट्ट निधनप्रति दुःख व्यक्त गर्र्दै दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ ।
सवारी दुर्घटनामा न्यूनीकरणका लागि सवारी साधनको चाप हुने स्थानमा सवारी सञ्चालनका लागि समय निर्धारण गर्न समेत माग गरिएको छ । ‘घटनाबाट पाठ सिक्दै बढी सवारी चाप हुने स्थानमा ठूला सवारी साधन सञ्चालन गर्ने समय निर्धारण गरी दुर्घटनाको जोखिम घटाउन सम्बद्ध निकायसंग जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
नेकपाले घट्नालाई राजनीतिक रङ्ग दिएर अशान्ति फैलाउने, सार्वजनिक सम्पत्ति र व्यक्तिको निजी सम्पत्तिमा क्षति पु¥याउने कार्यले समाज त्रसित हुन पुगेको उल्लेख गर्दै राजनीतिक दल, नागरिक समाज सबैलाई सचेत हुन आव्हान गरेको छ ।
‘यस्ता समूहको समयमै पहिचान र नियन्त्रण हुन नसके ठूलो क्षतिको सामना गर्नु पर्ने अवस्था सृजना हुने कुरालाई नकार्न सकिन्न । त्यस्ता प्रवृत्तिको प्रतिवाद गर्दै अराजक समूहलाई निरुत्साहित गर्न सामुहिक प्रयास आवश्यक छ’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्ति
१.मिति २०७६ माघ ९ गते भीमदत्त नगरपालिकाको बसपार्क नजिक टिप्परको ठक्करबाट जनज्योती बहुमुखी क्याम्पसमा अध्यनरत छात्रा रमिता भट्टको मृत्य भएको घटना प्रति दुःख ब्यक्त गर्दछौं । छात्रा भट्टप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । घटनाबाट मर्माहत परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषि माथि कारवाही र पीडित परिवार जनलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसंग जोडदार माग गर्दछौं । साथै घटनाबाट पाठ सिक्दै बढी सवारी चाप हुने स्थानमा ठूला सवारी साधन सञ्चालन गर्ने समय निर्धारण गरी दुर्घटनाको जोखिम घटाउन सम्बद्ध निकायसंग जोडदार माग गर्दछौं ।
२.सोही घटनालाई लिएर मिति २०७६ माघ ९ गते साँझ नेकपा जिल्ला कमिटी सदस्य÷सुदूरपश्चिम कमिटीका सदस्य तथा भीमदत्त नगरपालिका मेयर सरेन्द्र विष्टको महेन्द्रनगरको गोल मार्केट नजिक घरमा भएको ढुंगामुडा र तोडफोडको प्रयास प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । सडक दुर्घटना जस्तो नितान्त फरक घटनालाई लिएर नगर प्रमुखको निजि निवासमा हुलहुज्जत गर्न जानु कुनै पनि अवस्थामा सह्य हुने विषय होइन् । त्यस्तो अराजक घटनाप्रति हामी खेद व्यक्त गर्दछौं । त्यस्तो निन्दनिय घटनाको तत्काल छानविन गरी दोषिहरुलाई कानूनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रत्याभूूति दिलाउन हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।
३.जस्तासुकै घटना हुुंदा पनि समाजमा अशान्ति निम्त्याउने, सार्वजनीक सम्पत्ति र व्यक्तिको नीजि सम्पत्तिमा क्षति पु¥याउने, घटनालाई राजनीतिक रंग दिएर अन्तै मोड्ने विगतदेखिको प्रवृत्तिले समाजमा त्रासको वातावरण सृजना गरेको कुराप्रति सबै राजनीतिक दल, नागरिक समाज सचेत हुनु जरुरी छ । यस्ता समूहको समयमै पहिचान र नियन्त्रण हुन नसके ठूलो क्षतिको सामना गर्नु पर्ने अवस्था सृजना हुने कुरालाई नकार्न सकिन्न । त्यस्ता प्रवृत्तिको प्रतिवाद गर्दै अराजक समूहलाई निरुत्साहित गर्न सामुहिक प्रयास आवश्यक छ । साथै समाजमा शान्ति सुरक्षा कायम गर्नै अधिकार प्राप्त सुरक्षा निकायलै पनि कानूनी समाजमा अराजकता सृजना गर्ने व्यक्ति वा समूहको तत्काल पहिचान गरि कानूनी दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दछौं ।
क.तारा लामा तामाङ् क़.बिर बहादुर थापा
सचिव तथा प्रदेश कमिटी सदस्य जिल्ला कमिटी अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)जिल्ला कमिटी कञ्चनपुर