महेन्द्रनगर, १६ असोज
भीमदत्त नगरपालिका–१२ ओदालीका भुवन शंकर पन्तलाई ह्विल चेयर दिइएको छ । नशा खराबीका कारण बायाँ खुट्टा घुँडासम्म काटिएका सशस्त्र प्रहरी हवल्दार पन्तलाई बिहीबार घरमा ह्विल चेयर दिइएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले पन्तको घरमा पुगेर ह्विलचेयर प्रदान गर्नु भयो । नगर प्रमुख विष्टले युवा अवस्थामै खुट्टाको समस्या झेल्नु पर्ने पन्तको बाध्यताप्रति दुःख व्यक्त गर्र्दै ह्विलचेयरले आउजाउ सहज बताउनु भयो ।
घर विदामा आएका बेला गत जेठमा हिँड्ने क्रममा लडेर चोट लागेका पन्तको नशा चकिएर खराब भएपछि घुँडासम्मको खुट्टा काटिएको थियो । त्यसपछि पन्त घरमै बस्दै आउनु भएको छ । ‘हिड्ने बेलामा लडेर नशा मर्केर खराबी भएपछि खुट्टा काटियो, घरमै बसेको थिए’ सशस्त्र प्रहरी हवल्दार पन्तले भन्नु भयो, ‘अब ह्विलचेयर पाएपछि आउजाउ गर्न सजिलो हुन्छ ।’
महोत्तरी दरबन्दीका हवल्दार पन्तको अझै १४ वर्ष सेवा अवधि बाँकी छ । सशस्त्र प्रहरीmले उपचार गरेपछि कार्यालय आउन भनेको हवल्दार पन्तले बताउनु भयो । खुट्टा काटिएपछि पन्तको दरबन्दी झलारीस्थित सशस्त्र प्रहरी गणमा सारिएको छ ।
ह्विलचेयर वितरण कार्यक्रममा भीनपा वडा नं. १२ का अध्यक्ष कृष्ण सिह देउपा, नगर कार्यपालिका सदस्य द्रोपती जोशी, वडा सदस्य डम्बरदत्त भट्ट, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका सदस्य महेश भट्ट लगायतका सहभागी भएका छन् ।