महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ खैरभट्टीमा आधारभूत स्वास्थ्य भवन बनाउन थालिएको छ । भीमदत्त नगरपालिकाको सबै वडामा स्वास्थ्य स्वास्थ्य संस्था स्थापना गर्ने नीति कार्यक्रम अनुसार खैरभट्टीमा भवन बनाउन थालिएको हो ।
भीमदत्तको पूर्वाधार विकास कार्यक्रम अन्र्तगत बनाउन लागिएको भवनको आइतबार औपचारिक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले शिलान्यास गर्नु भयो ।
‘संविधानमा स्वास्थयलाई मौलिक हक अधिकारका रुपमा राखिएको छ, त्यस अनुसार नगर वासिन्दाको स्वास्थ्य सेवामा पहुँच बढाउन आधारभूत स्वास्थ्य भवन निर्माण अघि बढाएका छौ’ उनले भने,‘सहज रुपमा जनतालाई स्वास्थ्य सेवा पुगाउने नगरपालिकाको नीति अनुसार यो १८ नम्बर वडामा पनि संस्था विस्तार गर्न लागिएको छ ।’
मेयर विष्टले स्थानीय तह निर्वाचनमा गरिएको प्रतिवद्धता अनुसार नगरका सबै वडामा स्वास्थ्य सञ्चालनमा आएको बताउनु भयो । केही वडामा बर्थिङ्ग सेन्टर सहितका संस्था सञ्चालनमा आएको बताउनु भयो ।
स्थानीय तह निर्वाचनपछि वडा नं. १८ मा वडा स्वास्थ्य चौकी स्थापना गरिएको थियो । स्वास्थ्य चौकीबाट मात्रै वडाका सबै वासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन असहज हुने देखिएपछि आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्न लागिएको हो ।
६ महिनाभित्र निर्माण पूरा गर्ने गरी सुरु गरिएको भवन निर्माणको ठेक्का दोगडा शक्ति निर्माण कम्पनीले लिएको छ । निर्माण कम्पनीलाई कार्यालयलाई २० लाखको कार्यादेश दिएको छ । भवन निर्माणका लागि ३१ लाख बढीको अनुमान गरिएको छ ।
शिलान्यास कार्यक्रममा भीमदत्त नगरपालिकाका पूर्व नगर उप प्रमुख ईश्वरी प्रसाद खरेल, वडा अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेय, वडा सदस्य प्रशान्त भट्ट लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, बुद्धिजीवि, स्थानीय सहभागी भएका छन् ।
कार्यक्रममा भीमदत्तका पूर्व उप मेयर खरेलले नगरका सबै वडामा स्वास्थ्य संस्था स्थापना गरी वासिन्दालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने नीति कार्यक्रम सराहनीय भएको बताउनु भयो ।
‘सबै वडामा स्वास्थ्य संस्था बनाउन नीति र कार्यक्रम राम्रो छ, यो सराहनीय छ’ पूर्व उप मेयर खरेलले भन्नु भयो, ‘घरदैलोमा सहज रुपमा सेवा पाउँदा वडा वासी खुसी छौ ।’
भीमदत्त नगरपालिका १८ का अध्यक्ष पाण्डेयले भूगोल र जनसंख्या दुबैको हिसाबले १८ नम्बर वडा ठूलो भएकाले सबै वासिन्दालाई सेवा उपलब्ध गराउन आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्न लागिएको बताउनु भयो ।
स्थानीय तह निर्वाचनपछि वडा स्वास्थ्य चौकी स्थापना गरी सेवा दियौ, भूगोल र जनसंख्याको हिसाबले यो ठूलो वडा हो, त्यस अनुसार सबै वासिन्दालाई सहज रुपमा सेवा उपलब्ध गराउन आधारभूत स्वास्थ्य सेवा केन्द्र पनि स्थापना गर्न लागेका छौ’ अध्यक्ष पाण्डेयले भन्नु भयो ।
ठेक्का सम्झौता अनुसार आगामी जेठमा केन्द्र निर्माण पूरा भएपछि आवश्यक जनशक्ति पूर्ति गरी सेवा सञ्चालनमा ल्याइने वडा अध्यक्ष पाण्डेयले बताउनु भयो ।