महेन्द्रनगर, ११ भदौ
भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख सुशिला चन्द सिह सहित जनप्रतिनिधिले हात्तीले धानबालीमा पुगाएको क्षतिको स्थलगत अनुगमन गर्नु भएको छ । भीमदत्त नगरपालिका वडा नं. १५ गौबरैयाको रामजानकी टोल, राधाकृष्ण टोल र हरि टोलमा क्षतिको अनुगमन गरिएको छ ।
कार्य वाहक नगर प्रमुख चन्द सहित वडा अध्यक्ष भीम बहादुर शाहु र वडा सदस्य नन्दराम भाटले अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा कार्य वाहक नगर प्रमुख चन्दले स्थानीयबाट क्षतिको जानकारी लिनु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मंगलबार राति वस्तीमा पसेको हात्तीको बथानले तीन टोलमा आधा दर्जन परिवारको धानबालीमा क्षति पुगाएको छ ।
राधाकृष्ण टोलकी पार्वती भट्टले खेतमा हात्ती आएपछि ज्यान जोगाउन मुस्किल परेको बताउनु भयो । ‘घरभित्र थियौ, बाहिर रुख चुँडेजस्तो आवाज आयो, के भयो भनेर बाहिर आउँदा हात्ती त बारीमा आई सकेका रहेछन्’ उनले भनिन्,‘यी केटाकेटी बल्लतल्ल घर बाहिर लगेर जोगायौ ।’
निकुञ्ज किनार भट्टको कच्ची घर छ । कच्ची घरलाई हात्तीले सहज रुपमा भत्काउन सक्ने भएकाले भट्ट परिवारलाई ज्यान जोगाउन मुस्किल परेको थियो । यस अघि तीन वर्ष अघि आएको हात्तीको बथानले धानबालीमा क्षति पुगाएको स्थानीय भट्टले बताउनु भयो ।
भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख चन्दले निकुञ्ज किनारका वासिन्दा सधैं हात्तीको त्रासमा बस्न बाध्य भएकाले स्थायी समाधानका लागि सरकारसित पहल गरिने बताउनु भयो । ‘यो निकुञ्ज किनारमा बर्सेनी हात्तीको त्रास भई रहन्छ, हात्ती नियन्त्रणका लागि स्थानीय समाधान नखोजी छैन’ उनले भनिन्,‘सरकारसित यसको स्थायी समाधानका लागि पहल गर्छौ ।’
वडा अध्यक्ष शाहुले हात्तीको बथानले आधा दर्जन परिवारको दुई बिगाहामा लगाएको धानबाली क्षति पुगाएको जानकारी आएको बताउनु भयो । ‘करीब दुई बिगाहामा लगाएको बालीमा क्षति पुगाएको जानकारी आएको छ’ वडा अध्यक्ष शाहुले भन्नु भयो, ‘हात्तीले धानबाली कुल्चेर नोक्सान पुगाएका छन् ।’
स्थानीयले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वडा कार्यालयमा क्षतिको विवरण जानकारी गराएका छन् । निकुञ्जले
बुधबार क्षतिको सर्जिमिन मुचुल्का बनाएका छन् । वडा कार्यालयले निकुञ्ज किनारका केही स्थानमा सडक बत्ती जडान गरेको छ ।
वडा अध्यक्ष शाहुले वडा कार्यालयले क्षतिपूर्तिका लागि वडा कार्यालयबाट निकुञ्जलाई सिफारिश गरिने बताउनु भयो ।
यस अघि दुई दिन अघि भीनपा–१८ मा हात्तीको बथानले दुई परिवारको धानबालीमा नोक्सान पुगाएको थियो । भीनपाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट सहित वडा नं.१८ का अध्यक्ष राजेन्द्र पाण्डेय, वडा नं. १३ का अध्यक्ष लाल बहादुर शाहीले स्थलगत अनुगमन गरी क्षतिको जानकारी लिनु भएको थियो ।