महेन्द्रनगर, १ पुस
१३ औं दक्षिणी एशियाली खेलकूद (साग) का पदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको छ । भीनपा ७ ले विभिन्न खेलमा पदक जित्ने वडाका पाँच खेलाडीलाई सम्मान गरेको छ ।
सागमा भीनपा ७ का सागर भण्डारी, विशाल सिह विष्ट, अम्बिका भण्डारी, निर्मला जाग्री र सन्तोस बोहराले पदक जित्नु भएको छ । बोहरा बाहेक अन्यले रजत जितेका छन् । बोहराले खोखो खेलमा कास्य पदक जित्नु भएको हो ।
सागर र विशालले भारोत्तन तथा अम्बिका र निर्मलाले कुस्तीमा पदक हात पारेका पार्नु भएको हो । सबै खेलाडी हल्दुखालका हुन् । हल्दुखालस्थित महाकाली जनसेवा माध्यमिक विद्यालयमा कार्यक्रम गरी सबैलाई सम्मान तथा स्वागत गरिएको छ । यसैगसरी खेलाडीसंगै खेल प्रशिक्षकलाई समेत सम्मान गरिएको छ ।
वडा कार्यालयले कास्य पदक विजेता बोहरालाई नगद १० हजार र अन्यलाई जनही नगद ५ हजार पुरस्कार समेत प्रदान गरेको छ । यसैगरी खेलाडीलाई टिका, दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ । प्रशिक्षकहरुलाई टिका र दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिह, भीनपा सामाजिक विकास समितिका संयोजक हरक सिह धामी, वडा अध्यक्ष शंकर कुँबर, वडा नं. ३ का अध्यक्ष राम बहादुर जप्रेल लगायतले खेलाडी प्रशिक्षकलाई सम्मान गर्नु भयो ।
यसैगरी प्रशिक्षकहरुमा भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश भट्ट, कबड्डी (महिला) का बिष्णुदत्त भट्ट, कबड्डी (पुरुष ) का जय बहादुर बोहरा, कुस्तीका राजेन्द्र बहादुर चन्द र भारोत्तोलनका जीवन गौतमलाई सम्मान गरिएको छ ।
कार्यक्रममा नगर उप प्रमुख चन्दले सागमा पदक जितेर खेलाडीहरुले वडा, नगर र सुदूरपश्चिम प्रदेशको मात्रै नभएर नेपालको प्रतिष्ठा बढाएकोमा बधाई दिनु भयो ।
‘यो हामी सबैका लागि गर्व हो, देशको मान सम्मान बढेको छ, प्रतिष्ठा बढेको छ’ नगर उप प्रमुख चन्दले भन्नु भयो, ‘भीमदत्त नगरपालिका खेलाडीको सम्मान गर्न चाहन्छ, खेलकूद विकासका लागि सहकार्य गरी गई रहेको छ , भविष्यमा पनि सहकार्य गरी जान्छ ।’
नगर प्रमुख चन्दले खेल र खेलाडी दुबैलाई मध्यनजर गरी नगरपालिकाले खेलकूदका कार्यक्रम गर्दै आएको उल्लेख गर्नु भयो । ‘खेलकूदका लागि नीति निर्माण गरिएको छ , त्यसै अनुसार अघि बढेका छौ, एक वडा एक खेल मैदानको बनाई रहेको छ’ नगर उप प्रमुख चन्दले भन्नु भयो ।
सामाजिक विकास समितिका संयोजक धामीले सागका पदक विजेता खेलाडीलाई भीनपाले सम्मान गर्ने बताउनु भयो । वडा नं. ३ का अध्यक्ष राम बहादुर जप्रेलले खेलाडी उत्पादनमा जोड दिनु भयो ।
भलिबलका राष्ट्रिय प्रशिक्षक भट्टले सागमा नेपाली खेलाडीले आफ्नो क्षमता र दक्षता प्रदर्शन गरेको उल्लेख गर्दै खेलकूद क्षेत्र व्यवस्थित हुन लागेको बताउनु भयो ।
‘अहिलेसम्म स्थिरता नभएर खेल क्षेत्र खासै प्रगतिमा जान सकेन, अहिले स्थिरता छ, त्यसको असर सागमा देखियो’ प्रशिक्षक भट्टले भन्नु भयो, ‘अझै व्यवस्थित गरी जानु पर्छ ।’
वडा अध्यक्ष शंकर कुँबरको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा सदस्य गणेशदत्त भट्टले स्वागत मन्तव्य राख्नु भएको थियो । विद्यालयमा औपचारिक कार्यक्रम अघि खेलाडीलाई वडा पञ्चे बाजा सहित वडा परिक्रमा गराइएको छ । परिक्रममा जनप्रतिनिधि, स्थानीय, विद्यार्थी, शिक्षक सहभागी भएका छन् ।
कार्यक्रममा नेकपा नेताहरु रबिन्द्र कुँबर, देबेन्द्र ढुङ्गाना, जिल्ला खेलकूद विकास समितिका निवर्तमान अध्यक्ष शेर बहादुर चन्द, वडा सदस्यहरु लक्ष्मी बोहरा, सरस्वती नेपाली, उत्तम बोहरा लगायतका सहभागी हुनु भएको छ । यस अघि वडा नं. ३ ले सोही वडाकी स्वर्ग पदक विजेता संगिता धामीलाई सम्मान गरेको थियो ।